सार्थक व्युरो ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ स्थित रकुनी टोलमा एक पुरुष घरभित्रै मृत अवस्थामा फेला परेका छन् । मृतक स्थानीय ४५ वर्षीय लीलाराम सुनार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार बिहान सुनार आफ्नै घरभित्र रगताम्य अवस्थामा भेटिएका हुन् । घटनाको जानकारी मृतककी श्रीमतीले बिहान करिब ७ बजे प्रहरीलाई गराएकी थिइन् । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार प्रारम्भिक अनुसन्धानमा सुनारमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको देखिएको छ । उनको घाँटीसहित शरीरका विभिन्न भागमा गहिरा चोट भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।


















Discussion about this post