सभामुखले पटक–पटक नाम बोलाउँदा पनि संसद्मा देखिएनन् रास्वपा सांसद कार्की

सार्थक व्युरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की सोमबार संसद् बैठकमा अनुपस्थित भएपछि उनको विषयलाई लिएर राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।
मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीसम्बन्धी एउटा विवादास्पद समाचार सार्वजनिक भएपछि उनी संसद्मा नदेखिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले संसद् भवनभित्र पम्प्लेट प्रदर्शन गर्दै विरोध जनाएका थिए । उक्त घटनाप्रति सभामुख डोलप्रसाद अर्यालले असन्तुष्टि व्यक्त गर्दै नियमविपरीत गतिविधि दोहोरिए कारबाही हुन सक्ने संकेत गरेका थिए ।
त्यसपछि शून्य समय सञ्चालन गर्ने क्रममा एमाले सांसद कृपाराम रानाथारूले सरकार र सुशासनको विषय उठाउँदै कञ्चनपुरको एक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
उनको मन्तव्यपछि आकस्मिक समयमा बोल्नका लागि सभामुखले रास्वपा सांसद कृष्णकुमार कार्कीको नाम लगातार तीन पटक उच्चारण गरेका थिए । तर, कार्की बैठक कक्षमा उपस्थित नभएपछि उनले बोल्ने अवसर उपयोग गर्न सकेनन् । त्यसपछि सभामुखले अर्को वक्ताका रूपमा रास्वपाकै सांसद केपी खनाललाई समय दिएका थिए । खनालले सेती लोकमार्गको विषयमा धारणा राखेका थिए ।
संसद् सचिवालयमार्फत आकस्मिक समयमा बोल्न नाम टिपाएका कार्की अन्ततः बैठकमा अनुपस्थित रहेकाले त्यसले थप जिज्ञासा पैदा गरेको छ ।
यसअघि पनि कार्की विवादमा तानिएका थिए । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको आगजनी तथा तोडफोड घटनामा उनको संलग्नताको विषय चर्चामा आएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनी आन्दोलनकारीसँग संसद् परिसरमा देखिएका थिए । त्यसबेला उनले संसद् भवनभित्र कुर्सी जलाएको स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो ।
वैदेशिक रोजगारीबाट फर्किएपछि राजनीतिमा सक्रिय बनेका कार्की २०७९ को निर्वाचनमा मोरङ–२ बाट निर्वाचित भएका हुन् । उनले एमालेका दिलीपकुमार बगडिया र कांग्रेसका डा. मिनेन्द्र रिजाललाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित