सार्थक व्युरो । कञ्चनपुरमा निर्माण व्यवसायीहरूले आफ्ना माग सम्बोधन गर्न दबाबस्वरूप एकै दिन तीन सरकारी कार्यालयमा धर्ना दिएका छन्। महाकाली सिँचाइ तेस्रो चरण आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय र महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा पुगेर व्यवसायीहरूले ज्ञापनपत्र बुझाउनुका साथै विरोध कार्यक्रम सञ्चालन गरेका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय आन्दोलन कार्यक्रमअन्तर्गत निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वमा उक्त विरोध कार्यक्रम गरिएको बताइएको छ। व्यवसायीहरूले निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार समायोजन गर्नुपर्ने तथा निर्माण व्यवसायीमाथि भइरहेको धरपकड रोक्नुपर्ने माग अघि सारेका छन्।
ज्ञापनपत्र बुझाएपछि व्यवसायीहरूले सम्बन्धित कार्यालय परिसरमै धर्ना दिएका थिए। निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले महासंघको केन्द्रीय कार्यक्रमअनुसार चरणबद्ध आन्दोलन सञ्चालन भइरहेको जानकारी दिए।
उनका अनुसार यसअघि पनि जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालयलगायत सरकारी निकायमा पुगेर व्यवसायीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाइसकेका छन्।


















Discussion about this post