सार्थक व्युरो । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको घटनाक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै पाँच बुँदे विमति सार्वजनिक गरेको छ। कानुन व्यवसायीहरूको छाता संस्था बारले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको हो।
बारको हिजो बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नगरिएको विषयलाई लिएर विरोध जनाएको जनाएको छ। बारले कुनै स्पष्ट कारणबिना निवेदन दर्ता नगरी रोकिराख्नु न्यायिक प्रक्रियामाथिको अवरोध भएको निष्कर्ष निकालेको छ।
विरोधस्वरूप आज दिउँसो सवा १ बजे सर्वोच्च अदालत परिसरमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरिएको बारले जनाएको छ।
प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेको रिट दरपिठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले निर्देशन दिए पनि सर्वोच्च अदालत प्रशासनले त्यसलाई कार्यान्वयन नगरेको आरोप बारको छ।
यसअघि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उक्त सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख २५ गते रिट दायर गर्न खोजेका थिए। तर, सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेको बताइएको छ।
रिट दर्ता नभएपछि त्रिपाठी र सिलवालले दरपिठविरुद्ध निवेदन दिएका थिए। तर त्यो निवेदनसमेत अदालत प्रशासनले रोकिराखेपछि विवाद कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पुगेको थियो।


















Discussion about this post