सार्थक व्युरो ।सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ। वायु प्रदूषणको बढ्दो समस्या, ट्राफिक जाम तथा सार्वजनिक यातायात क्षेत्रमा देखिएको अव्यवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र पठाउँदै विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता नगर्न निर्देशन दिएको हो।
विभागका अनुसार सार्वजनिक यातायातको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन अभावका कारण यात्रु आवागमनमा समस्या बढ्दै गएको छ। सवारी साधनको अत्यधिक चाप र इन्धन मूल्यवृद्धिले थप चुनौती सिर्जना गरेपछि सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन दर्ता रोक्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार गरिएको विभागले जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार वातावरणीय असर, सवारीको अत्यधिक चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारण देखिएमा विभागले आवश्यक निर्देशन जारी गर्न सक्ने प्रावधान रहेको छ।
विभागले अर्को सूचना जारी नभएसम्मका लागि यो व्यवस्था लागू रहने स्पष्ट पारेको छ। अब नयाँ निर्णय नआउञ्जेल देशभर कुनै पनि प्रकारका सार्वजनिक सवारी साधन, विद्युतीय गाडीसहित, दर्ता नहुने भएका छन्।








Discussion about this post