सार्थक व्युरो । एरिष्टो इङ्गलिश बोर्डिङ स्कुलको मुख्य प्रायोजन तथा प्रभात मिडियाको आयोजनामा सञ्चालन गरिएको ‘एरिष्टो एसइई आइडल–५’ को फाइनल प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि डिस्कभरी सेकेन्डरी स्कुल धनगढीकी विद्यार्थी एन्जल चौधरीले जितेकी छन्।
प्रतियोगितामा गेटास्थित सरस्वती नमुना माध्यमिक विद्यालयका प्रविन बोहरा दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता चौधरीले ट्रफीसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् भने उपविजेता बोहराले ३० हजार रुपैयाँ पुरस्कार हात पारे। दुवैलाई एरिष्टो इङ्गलिश बोर्डिङ स्कुलमा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पनि प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वक्ताहरूले यस्ता प्रतिभामूलक प्रतियोगिताले विद्यार्थीभित्र रहेका कला र क्षमता उजागर गर्दै राष्ट्रियस्तरमा पहिचान दिलाउन सहयोग पुग्ने धारणा राखेका थिए।
फाइनल समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा योगदान दिएको भन्दै प्रकाश गैरे, सामाजिक विषयवस्तुलाई कन्टेन्टमार्फत प्रस्तुत गरेको भन्दै अभिषेक सिंह तथा शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शान्ती अधिकारी क्षेत्रीलाई सम्मान गरिएको हो।
त्यसैगरी, एसइई परीक्षामा ४ जीपीए ल्याउन सफल ऐश्वर्य विद्या निकेतनका दिक्षान्त भट्टराई, डिस्कभरी ई.बो. स्कुलका अनुपराज गिरी र फारवेष्ट माध्यमिक विद्यालयका प्रज्वल भट्टलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
प्रतियोगिताको पाँचौँ संस्करण २०८२ असोज महिनाबाट सुरु भएको थियो। फाइनल चरणमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका २० जना विद्यार्थीले प्रतिस्पर्धा गरेका आयोजकले जानकारी दिएको छ।
सुदूरपश्चिमका दुर्गम क्षेत्रसम्म रहेका विद्यार्थीभित्रको सांगीतिक प्रतिभा खोजी गरी प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको एसइई आइडलले कला, सिर्जनशीलता र प्रतिभालाई राष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्य लिएको प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले बताएका छन्।








Discussion about this post