सार्थक व्युरो । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीयवासी तथा पत्रकारमाथि कुटपिट, लुटपाट, बन्धक बनाउने र दुर्व्यवहार भएको आरोपमा २३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी उजुरी दर्ता भएको छ। घटनाले मानवअधिकार उल्लंघनदेखि प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपसम्मको गम्भीर प्रश्न उठाएको छ।
जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीबाट आएको भनिएको समूहले लाम्पाटा क्षेत्रमा स्थानीयमाथि आक्रमण गरेको आरोप छ। करिब तीन सय जनाको समूहले गाउँमा प्रवेश गरी कुटपिट, घरभित्र लुटपाट तथा धम्कीपूर्ण गतिविधि गरेको स्थानीयको दाबी छ।
सो क्रममा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमागारा गुरुङसहित पाँच जनालाई बन्धक बनाएर राखिएको बताइएको छ। स्थानीय तहका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार उक्त समूहले वन्यजन्तु तथा जडीबुटी तस्करीसम्बन्धी कागज तयार पार्दै क्षेत्र खाली गर्न दबाबसमेत दिएको आरोप छ। बन्धक बनाइएकाहरूलाई जेठ ५ देखि ६ गतेसम्म नियन्त्रणमा राखिएको दाबी गरिएको छ।
घटनामा संलग्न पहिचान खुलेका २३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुरा का प्रवक्ता नरेश शाहीका अनुसार उजुरी दर्ता भए पनि अनुसन्धानका कारण नाम सार्वजनिक गर्न नसकिने अवस्था छ। हालसम्म कोही पनि पक्राउ नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उता हुम्ला जिल्ला प्रहरी कार्यालयले पनि घटनामा संलग्नको खोजीका लागि टोली परिचालन गरिएको जनाएको छ।
यसैबीच, घटनापछि प्रभावित क्षेत्रका युवाहरूले तत्काल दोषी पक्राउ नपरेको भन्दै आपत्ति जनाएका छन्।
घटनाको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहारलाई लिएर नेपाल पत्रकार महासंघ ले गम्भीर आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि आक्रमण, सञ्चार सामग्री तोडफोड तथा लुटपाट गरिएको उल्लेख छ।
महासंघका अनुसार जेठ ३ गते घटनास्थलमा पुगेका पत्रकार उमेशबहादुर शाहीको ड्रोन क्यामेरा तोडफोड गरिएको थियो। साथै पत्रकार जनक बोहरा, अतिल शाही र जीतजंग कटेललाई तीन दिनसम्म सम्पर्कविहीन बनाइएको र भिडियो सामग्री मेटाउन दबाब दिइएको बताइएको छ। पछि उनीहरू जेठ ६ गते महासंघको सम्पर्कमा आएका थिए।
त्यसैगरी, पत्रकार प्रकाशबहादुर सिंहसहित अन्य पत्रकारलाई सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको महासंघले जनाएको छ। यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
यसअघि स्थानीय स्रोतका अनुसार हुम्लाबाट आएको समूहले लाम्पाटा क्षेत्रमा विवाद सिर्जना गर्दै कुटपिट, लुटपाट तथा धम्कीपूर्ण गतिविधि गरेको आरोप छ। घटनाको क्रममा केही पत्रकारको सञ्चार सामग्रीसमेत तोडफोड गरिएको तथा भिडियो सामग्री मेटाउन लगाइएको बताइएको छ।
घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीयवासी, पत्रकार तथा सरोकारवालाले माग गरेका छन्।


















Discussion about this post