सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक ले युवाको सक्रिय सहभागिताले समाज र राष्ट्र निर्माणमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६ को समापन कार्यक्रममा बोल्दै उहाँले युवाका सवाललाई केवल छलफलमा सीमित नराखी नीति निर्माणको तहसम्म पुर्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सभापति पाठकले डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य, रोजगारी तथा जलवायु न्यायजस्ता विषय अहिलेका युवाका प्रमुख सरोकार बनेको उल्लेख गर्दै राज्यले यस्ता मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनुभयो । युवामा राजनीतिक चेतनाको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले युवाले समाजमा व्याप्त निराशाभन्दा सम्भावनाका क्षेत्रलाई उजागर गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले सुदूरपश्चिमका युवाका साझा मुद्दा, माग र प्रतिबद्धता समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । सम्मेलनमा प्रदेशका नौवटै जिल्लाबाट सहभागी युवाले डिजिटल नागरिकता, नीति निर्माणमा युवा सहभागिता, सामाजिक उत्तरदायित्व, रोजगारी, मानसिक स्वास्थ्य तथा जलवायु न्यायका विषयमा आफ्ना धारणा राखेका थिए ।
घोषणापत्रमा डिजिटल सुरक्षा र जिम्मेवार प्रविधि प्रयोग, समावेशी शिक्षा, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, आर्थिक अवसर र रोजगारी, जलवायु न्याय तथा वातावरण संरक्षण, सहभागिता र सुशासनका विषयलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
सम्मेलनबाट सुदूरपश्चिमस्तरीय सीएसओ कमिटी पनि गठन गरिएको छ । कमिटीको संयोजकमा टेक साउद, सहसंयोजकमा दुर्गा बढुवाल तथा सदस्य–सचिवमा कपिल विष्ट सर्वसम्मत चयन हुनुभएको छ । साथै अन्य सात जिल्लाबाट एक–एक जना युवालाई कार्यसमिति सदस्य बनाइएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, युवा अभियान तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा आयोजित उक्त सम्मेलन जेठ ९ र १० गते धनगढी मा सम्पन्न भएको हो । समापन कार्यक्रम गैरसरकारी संस्था महासङ्घ नेपाल सुदूरपश्चिमका अध्यक्ष देवीप्रसाद खनाल को अध्यक्षतामा सम्पन्न भएको थियो ।


















Discussion about this post