नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालन अझै अन्योलमा

सार्थक व्युरो । महाकाली नदी माथि निर्माण सम्पन्न भएको नेपाल–भारत जोड्ने मोटरेबल पुल अझै सञ्चालनमा आउन सकेको छैन । नेपालतर्फको पहुँचमार्ग निर्माण अन्तिम चरणमा पुगे पनि पुल सञ्चालनमा ढिलाइ भइरहेकाले स्थानीयवासीले चासो व्यक्त गरेका छन् ।
नेपालतर्फ सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीका सबइन्जिनियर दौलतसिंह गन्डी का अनुसार १३० मिटर सडकखण्डमा कङ्क्रिट बिछ्याउने काम मात्रै बाँकी रहेको छ । उक्त काम केही दिनभित्र सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकार र भारत सरकारबीचको सहमतिअनुसार महाकाली नगरपालिका–८ को असिगडा क्षेत्र र भारतको धार्चुला तहसिलअन्तर्गत पर्ने छारछुमलाई जोड्ने गरी ११० मिटर लामो दुई लेनको मोटरेबल पुल निर्माण गरिएको हो ।
स्थानीयवासी नरेश भट्ट ले निर्माण सम्पन्न भइसकेको पुल शीघ्र सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले पुल सञ्चालनले व्यापार र पर्यटन क्षेत्रलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।
दार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गणेशसिंह ठगुन्ना ले पुल सञ्चालनका लागि आवश्यक पहल गरिने बताउनुभएको छ ।
पुलको शिलान्यास तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पुष्करसिंह धामी ले संयुक्त रूपमा गर्नुभएको थियो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामी का अनुसार पुल आसपासको नेपालतर्फको जग्गा अधिग्रहण प्रक्रिया पूरा भइसकेको छ । तर भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि आवश्यक संरचना निर्माण हुन अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पुल सञ्चालनसम्बन्धी औपचारिक निर्णयबारे केन्द्रबाट कुनै सूचना नआएको पनि उहाँको भनाइ छ ।
सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि थप प्राविधिक कामका कारण निर्माण अवधि लम्बिएको सबइन्जिनियर गन्डीले बताउनुभयो । पुल निर्माणको काम भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट्स लिमिटेड ले गरेको हो ।
दार्चुला उद्योग वाणिज्य सङ्घ का अध्यक्ष सुरेशसिंह थापा ले पुल सञ्चालनपछि नेपाल–भारतबीच व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू ले पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भारत तथा चीनसम्म व्यापार विस्तार गर्न सहज हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित