दीपक भट्ट र शुलभ अग्रवालमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान अन्तिम चरणमा

सार्थक व्युरो । सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानको घेरामा रहेका व्यवसायी दीपक भट्ट र शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिलका अध्यक्ष शुलभ अग्रवालमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुरोधपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत १८ गते व्यवसायी दीपक भट्टलाई ललितपुरबाट पक्राउ गरेको थियो। त्यसको केही दिनपछि शंकर ग्रुपसँग सम्बन्धित व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक बयानपछि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिए पनि उनका छोरा शुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरी अनुसन्धान जारी राखिएको छ।
सम्पत्ति शुद्धीकरण विभागसँग आफ्नै थुनुवा कक्ष नभएकाले दुवै आरोपितलाई प्रहरी हिरासतमा राखिएको छ। हाल दीपक भट्ट प्रहरी वृत्त बौद्धमा र शुलभ अग्रवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका छन्।
अनुसन्धानको क्रममा उनीहरूलाई हिरासतमा उपलब्ध गराइने सुविधा र व्यवहारबारे समेत चासो व्यक्त भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभागीय टोलीले अनुगमन तथा छड्के निरीक्षण गरेको स्रोतले जनाएको छ। यस विषयमा छुट्टै छानबिनसमेत जारी रहेको बताइएको छ।
अनुसन्धानका क्रममा हिमालयन बैंकबाट जगदम्बा स्टिलका नाममा लिइएको ऋणमध्ये करिब ४३ करोड रुपैयाँ दीपक भट्टको खातामा पुगेको देखिएको दाबी गरिएको छ। यसै आधारमा शंकर ग्रुप र भट्टबीचको वित्तीय कारोबारबारे अनुसन्धान केन्द्रित गरिएको छ। साथै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर कारोबारसम्बन्धी विषय पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ।
यता, लामो समयदेखि हिरासतमा रहँदा शुलभ अग्रवालको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। उनलाई विभिन्न समयमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। केही दिनअघि पाटन अस्पतालको मानसिक स्वास्थ्य वार्डमा भर्ना गरिएका अग्रवाललाई उपचारपछि डिस्चार्ज गरिएको भए पनि स्वास्थ्यमा पुनः समस्या देखिएपछि फेरि अस्पताल लगिएको स्रोतको भनाइ छ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले शुलभ अग्रवाल केही दिन अस्पतालमा भर्ना भएर उपचार गराएको पुष्टि गरेका छन्। उपचारपछि उनी पुनः प्रहरी हिरासतमा फर्किएको जनाइएको छ।
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक निर्मल ढकालका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ र आवश्यक कानुनी प्रक्रिया पूरा गरिँदैछ। यद्यपि अनुसन्धानकै क्रममा रहेका विषयमा विस्तृत टिप्पणी गर्न उनले अस्वीकार गरेका छन्।
व्यवसायी शुलभ अग्रवाल यसअघि पनि विवादमा परेका थिए। कोभिड–१९ महामारीको समयमा थर्मल गनको कालोबजारी गरेको आरोपमा उनी पक्राउ परेका थिए। उक्त घटनामा समेत उनले केही समय प्रहरी हिरासतमा बसेर कानुनी प्रक्रिया सामना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित