बाढी नियन्त्रणमा अर्बौँ खर्च, तर जोगबुढाका बासिन्दा अझै असुरक्षित

सार्थक व्युरो । भित्री मधेश क्षेत्र जोगबुढाको उर्वर भूमि एक समय देशका विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर आएका परिवारहरूको रोजाइको गन्तव्य थियो। घना वन फँडानी गरेर बनाइएका खेतबारी, मेहनतले निर्माण गरिएका घर र विस्तारोन्मुख बस्तीहरू अहिले भने रङ्गुन र पन्तुराखोलाको निरन्तर कटानका कारण संकटमा परेका छन्।
वर्षेनी आउने बाढीले खेतीयोग्य जमिनसँगै घरबाससमेत बगाउन थालेपछि परशुराम नगरपालिका–६ लगायत आसपासका क्षेत्रका बासिन्दा सुरक्षित स्थानको खोजीमा पलायन हुन थालेका छन्। सरकारी निकायका अनुसार विगत दुई दशकमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरिए पनि स्थानीयले अपेक्षित सुरक्षा महसुस गर्न सकेका छैनन्।
स्थानीय वृद्ध बजिर साउदले राज्यले कर उठाए पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न नसकेको गुनासो गर्नुभयो। बाढीका कारण घरजग्गा गुमाएका परिवारले न त प्रभावकारी पुनर्स्थापना पाएका छन्, न त दिगो समाधानको अनुभूति गर्न सकेका छन्।
अछामबाट चार दशकअघि जोगबुढा क्षेत्रमा बसाइँ सरेका साउदका अनुसार एक समय अहिलेको बस्ती क्षेत्र बाक्लो खैर र सिसौको वनले ढाकिएको थियो। वन फँडानी र बसोबास विस्तारसँगै भू–परिस्थितिमा परिवर्तन आयो। उहाँका अनुसार २०६० सालपछि बाढीको स्वरूप झन् आक्रामक बन्दै गयो र खेतबारी मात्र होइन, बस्ती नै जोखिममा पर्न थाल्यो।
स्थानीयवासीको भनाइमा नदी किनारका वन क्षेत्र नष्ट हुँदै जाँदा प्राकृतिक रूपमा पानीको बहाव नियन्त्रण गर्ने प्रणाली कमजोर बनेको छ। यसले गर्दा खोलाको धार सिधै बस्ती र खेतीयोग्य जमिनतर्फ मोडिन थालेको छ।
संघीय शासन व्यवस्था लागू भएपछि परशुराम नगरपालिकाको पहलमा २०७४ सालदेखि सर्गौडादेखि सिमलखेतसम्म ग्याबिन तटबन्ध निर्माण गरिएको थियो। यसअघि पनि नदी नियन्त्रणका विभिन्न योजनामा ठूलो रकम खर्च भइसकेको थियो। तर स्थानीयका अनुसार दीर्घकालीन अध्ययन र समग्र नदी व्यवस्थापनको अभावमा निर्माण गरिएका संरचना प्रभावकारी हुन सकेनन्।
कुणागाउँका रमेश पनेरूका अनुसार करिब २० किलोमिटर क्षेत्रमा निर्माण गरिएको तारजाली तटबन्ध र सिँचाइ संरचना समेत बाढीले क्षति पुर्‍याएको छ। नदीको बहावको समुचित अध्ययन नगरी निर्माण गरिएका संरचनाहरू ठूलो बाढीको सामना गर्न नसकेको उहाँको भनाइ छ।
सर्गौडा, ठन्नझाला, सिमलखेत, कुणा र चन्दनीलगायतका बस्तीमा अहिले पनि बाढीको जोखिम कायमै छ। धेरै परिवार सुरक्षित स्थानमा सरेका छन् भने केही परिवार नदी किनारकै क्षेत्रमा अस्थायी खेतीपाती गरेर जीविका चलाइरहेका छन्।
स्थानीयका अनुसार विदेश र भारतमा श्रम गरेर कमाएको रकम लगानी गरी बनाइएका खेतबारी तथा घरसमेत नदीले बगाएपछि गाउँमा बस्ने आधार कमजोर बन्दै गएको छ। पछिल्ला वर्षहरूमा दर्जनौँ परिवार अन्यत्र सरेका छन्, विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ र उर्वर जमिन विस्तारै बगरमा परिणत हुन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित