सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममाथि बहस जारी

सार्थक व्युरो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल निरन्तर जारी रहेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रमका सकारात्मक पक्ष, चुनौती र सुधारका आवश्यकताबारे धारणा राखेका छन्।
प्रदेश सभा सदस्य रमेशसिंह धामीले सरकारको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको बताउँदै प्रदेश प्रहरी ऐनलाई शीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै, मेघराज खड्काले नीति तथा कार्यक्रमले प्रदेशको विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गर्दै यसलाई उत्कृष्ट दस्ताबेजको संज्ञा दिनुभयो।
धर्मराज पाठकले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको खर्च गर्ने क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद मानबहादुर धामीले नीति तथा कार्यक्रममा उल्लेख गरिएका योजनाअनुसार बजेट निर्माण हुनुपर्नेमा जोड दिँदै त्यसो नभएकै कारण बेरुजु बढ्दै गएको दाबी गर्नुभयो।
नेपाली कांग्रेसका सांसद तुलसी देवकोटाले नीति तथा कार्यक्रमलाई प्रदेशको आवश्यकता र सम्भावनालाई समेट्ने महत्वपूर्ण दस्ताबेजका रूपमा व्याख्या गर्नुभयो। वन क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्ने सरकारी नीति प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले आर्थिक वर्षको अन्त्यमा हुने असारे खर्चको प्रवृत्ति अन्त्य गर्न र शिक्षा क्षेत्र सुधारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
नेकपाका सांसद शिवसिंह ओलीले प्रदेश गौरवका आयोजनाहरू आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ती आयोजनाको भौतिक तथा वित्तीय प्रगति स्पष्ट रूपमा प्रस्तुत नगरिएको टिप्पणी गर्नुभयो। राजधानी कार्यान्वयनलगायतका दीर्घकालीन योजना प्रभावकारी रूपमा अघि बढाउन प्रदेश विकास प्राधिकरण गठन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो।
प्रदेश सभा सदस्य जानकी कुँवरले नीति तथा कार्यक्रम पुरानै योजनाको निरन्तरता मात्र भएको टिप्पणी गर्दै सरकारको भनाइ र व्यवहारबीच एकरूपता आवश्यक रहेको बताउनुभयो। शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई पर्याप्त प्राथमिकता नदिइएको उल्लेख गर्दै उहाँले गम्भीर स्वास्थ्य समस्याका बिरामी अझै पनि भारत वा काठमाडौं पुग्न बाध्य रहेको धारणा राख्नुभयो।
नेकपाका सांसद नरेशकुमार शाहीले नीति तथा कार्यक्रमलाई सुधारको सम्भावना बोकेको दस्ताबेजका रूपमा व्याख्या गर्दै केही सकारात्मक विषय समेटिए पनि धेरै महत्वपूर्ण पक्ष छुटेको बताउनुभयो। उहाँले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै प्रदेश राजधानी कार्यान्वयनको विषय अपेक्षाअनुसार समावेश हुन नसकेको टिप्पणी गर्नुभयो।
प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल आगामी बैठकहरूमा पनि निरन्तर रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित