सार्थक व्युरो । कैलालीका १३ वटै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गरिएको छ। पालिकास्तरीय प्रथम अधिवेशनमार्फत अधिकांश स्थानमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिएको पार्टीले जनाएको छ।
रास्वपाका अनुसार धनगढी उपमहानगरपालिकाको सभापतिमा तुलाराम खनाल, टीकापुर नगरपालिकामा गोविन्द विष्ट तथा जानकी गाउँपालिकामा कलावती चौधरी चयन हुनुभएको छ। त्यसैगरी जोशीपुर गाउँपालिकाको नेतृत्व विनोद चौधरी, लम्कीचुहा नगरपालिकाको नेतृत्व नामकर खनाल र मोहन्याल गाउँपालिकाको नेतृत्व महेश विष्टले सम्हाल्नुभएको छ।
यस्तै बर्दगोरिया गाउँपालिकामा केशव भण्डारी, घोडाघोडी नगरपालिकामा नारायण भण्डारी तथा गौरीगङ्गा नगरपालिकामा सागर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ। कैलारी गाउँपालिकामा रेबन्त बोहोरा, भजनी नगरपालिकामा भरत साउद र गोदावरी नगरपालिकामा आशिष धामी सभापतिमा चयन हुनुभएको छ।
रास्वपाको सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य हरि रेग्मी का अनुसार अधिकांश पालिकामा सहमतिमै नेतृत्व चयन भएको हो। तर कैलारी गाउँपालिकामा भने सभापति पदका लागि रेबन्त बोहोरा र जितबहादुर चौधरीबीच प्रतिस्पर्धा भएको थियो। दुवैले समान २३–२३ मत प्राप्त गरेपछि गोला प्रथामार्फत बोहोरा विजयी घोषित भएका थिए।
पालिकास्तरको नेतृत्व चयन प्रक्रिया सम्पन्न भएसँगै रास्वपा कैलालीले जिल्ला सम्मेलनको औपचारिक सुरुआत गरेको छ। आइतबारदेखि सुरु भएको सम्मेलनले आगामी कार्यदिशा, संगठन विस्तार तथा जिल्ला नेतृत्व चयनका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।


















Discussion about this post