सार्थक व्युरो । कञ्चनपुर जिल्लाका पाँच स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। सम्भावित प्राकृतिक तथा जलवायुजन्य विपद्बाट हुने जनधनको क्षति कम गर्ने उद्देश्यले वडास्तरीय विपद् व्यवस्थापन समितिहरूलाई सक्रिय र सक्षम बनाउने पहल थालिएको हो।
बाढी, डुबान, अत्यधिक गर्मी (लू) तथा आगलागीबाट उत्पन्न हुन सक्ने जोखिमलाई न्यून गर्ने लक्ष्यसहित शुक्लाफाँटा, भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका विभिन्न वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। समितिका सदस्यहरूलाई उद्धार कार्य, प्राथमिक उपचार, पूर्वसूचना प्रणालीको प्रयोग, राहत व्यवस्थापन तथा विपद् सचेतनाका विषयमा अभिमुखीकरण प्रदान गरिएको जनाइएको छ।
वातावरण संरक्षण तथा समाज कल्याण सङ्घ (पेसवान) र प्राक्टिकल एक्सनको सहकार्यमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत स्थानीय तहसँग मिलेर उक्त अभियान अघि बढाइएको हो।
पेसवानका प्राविधिक सुपरभाइजर जनक लेखकका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै समुदायको तयारी र क्षमतामा वृद्धि गर्न वडास्तरीय समितिलाई तालिम दिइएको हो। उनका अनुसार विपद् आइपरेपछि मात्र उद्धारमा केन्द्रित हुनेभन्दा त्यसअघि नै समुदायलाई सजग र सक्षम बनाउनु आवश्यक भएकाले पूर्वसूचना, उद्धार, प्राथमिक उपचार तथा राहत व्यवस्थापनसम्बन्धी समूहलाई सक्रिय बनाउने काम भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेका मापदण्डअनुसार आवश्यक उद्धार सामग्री समितिहरूलाई उपलब्ध गराउने तयारी गरिएको छ। साथै ती सामग्रीको उचित प्रयोग र व्यवस्थापनबारे व्यावहारिक अभ्याससमेत सञ्चालन भइरहेको बताइएको छ।
कार्यक्रममार्फत बाढी, आगलागी र तातो हावाबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायबारे जानकारी दिइनुका साथै खोज तथा उद्धारमा प्रयोग हुने उपकरण सञ्चालनसम्बन्धी तालिम पनि प्रदान गरिएको छ।
विपद् विज्ञ प्रभूनिधि पन्तले स्थानीय विकास योजना तयार गर्दा जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका विषयलाई प्राथमिकतासाथ समावेश गर्नुपर्नेमा जोड दिए। उनका अनुसार दिगो विकास हासिल गर्न योजना निर्माणकै चरणदेखि जोखिम व्यवस्थापनलाई समेट्न आवश्यक छ।
कार्यक्रमअन्तर्गत पाँचवटै पालिकाका १७ समुदायमा बाढीसम्बन्धी कृत्रिम अभ्यास (मक ड्रिल) सम्पन्न भइसकेको छ। बाढीको सम्भावित सूचना प्रवाह, सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार परिचालन तथा राहत वितरण प्रक्रियाबारे समुदायस्तरमै अभ्यास गराइएको जनाइएको छ।
जोखिम न्यूनीकरणलाई व्यवहारमा लागू गर्न विभिन्न संरचनात्मक तथा वातावरणीय उपायसमेत अपनाइएका छन्। नदी कटान प्रभावित क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको छ भने बेलौरी र भीमदत्त नगरपालिकामा विपद्का बेला सुरक्षित आश्रयका रूपमा प्रयोग गर्न सकिने ‘सेफ हाउस’ निर्माणको प्रक्रिया अघि बढाइएको छ। नदी किनार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
त्यसैगरी अत्यधिक गर्मीबाट राहत दिन सार्वजनिक स्थलमा चौतारा निर्माण गर्ने योजना बनाइएको छ। विद्यालयस्तरमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी विषयलाई विद्यालय सुधार योजनासँग जोडेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले समुदायमा आधारित यस्ता पहलले विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले जलवायु परिवर्तनका असर ग्रामीण बस्तीमा प्रत्यक्ष देखिन थालेको उल्लेख गर्दै समयमै जनचेतना, सीप विकास र समन्वय अभिवृद्धि गर्न सके विपद्बाट हुने क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताए।
स्थानीय तह, समुदाय र विकास साझेदारबीचको सहकार्यलाई बलियो बनाउँदै सञ्चालन गरिएका यस्ता कार्यक्रमले स्थानीयवासीको क्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा छिटो, व्यवस्थित र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


















Discussion about this post