गौरीफन्टा नाकामा दुई नेपाली नाबालिगको उद्धार, मानव बेचबिखनको आशंका

सार्थक व्युरो । कैलालीस्थित नेपाल–भारत सीमा नाका गौरीफन्टामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को निगरानीका क्रममा भारततर्फ लैजाँदै गरिएका दुई नेपाली नाबालिगको उद्धार गरिएको छ। एसएसबीको ३९औँ बटालियनले मानव बेचबिखन तथा बाल शोषणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नाबालिगहरूलाई सुरक्षित उद्धार गरी सम्बन्धित निकायको जिम्मा लगाएको जनाएको छ।
एसएसबीका अनुसार जेठ २६ गते नियमित जाँचका क्रममा नेपालबाट भारत प्रवेश गर्न लागेका तीन नेपाली नागरिकलाई गौरीफन्टा सीमा चौकीमा रोकी सोधपुछ गरिएको थियो। उक्त समूहमा अछामका १९ वर्षीय प्रकाश कामीसहित एक नाबालिग बालक र एक नाबालिग बालिका रहेका थिए।
प्रारम्भिक बयानमा प्रकाश कामीले आफू भारतको महाराष्ट्र राज्यको पुणेमा रहेको एक निजी होटलमा कार्यरत रहेको र दुवै नाबालिगलाई पनि सँगै भारत लैजान लागेको बताएका थिए। तर विस्तृत सोधपुछका क्रममा नाबालिगहरूले परिवारलाई जानकारी नदिई घरबाट निस्किएको बताएका थिए।
घटनापछि एसएसबीले तत्काल नाबालिगका अभिभावकसँग सम्पर्क गरेको थियो। अभिभावकहरूले समेत बालबालिका कुनै जानकारी नदिई घरबाट हिँडेको पुष्टि गरेका थिए।
मानव बेचबिखन वा बाल श्रम तथा शोषणसँग सम्बन्धित जोखिम हुन सक्ने आशंकाका आधारमा एसएसबीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तीनै जनालाई नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ।
उद्धार तथा हस्तान्तरण प्रक्रियामा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), माइती नेपालअन्तर्गतको सीमा निगरानी समूह तथा संरक्षण तथा पुनःस्थापना केन्द्रका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
सम्बन्धित निकायका अनुसार उद्धार गरिएका दुवै नाबालिगलाई परिवारको संरक्षणमा फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित