सुसेली सम्मानबाट साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ सम्मानित

सार्थक व्युरो । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मधुवन, महेन्द्रनगर निवासी आगो लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित भएका छन्।
राष्ट्रिय सुसेली फाउन्डेसन को आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई ‘विराम–सरिता सुसेली सम्मान’ प्रदान गरिएको हो। उक्त सम्मान फाउन्डेसनका संस्थापक विराम ओझा र सरिता ओझा ‘सिर्जना’ को नाममा स्थापना गरिएको सम्मान हो।
सम्मानपत्रमा साहित्यकार सुमनले आफ्नो कृति ‘सप्तरंगी सुमन’ मार्फत सुसेली विधालाई विशेष प्राथमिकता दिँदै त्यसको प्रचार–प्रसार, अध्ययन, व्याख्या तथा ऐतिहासिक पक्षको खोज–अनुसन्धानमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ। साथै सुसेली विधाको विकास र लोकप्रियता अभिवृद्धिमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।
फाउन्डेसनका अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ रहेका छन्।
साहित्यकार सुमनले २०७८ साल भदौ २४ गते नेपाली साहित्यमा ‘आगो’ लघुकविता विधाको अवधारणा प्रस्तुत गरेका थिए। पाँच–पाँच अक्षरका दुई पाउ गरी जम्मा १० अक्षरभित्र रचना गर्न सकिने यो विधा उनका अनुसार नेपाली साहित्यमा नवीन प्रयोगका रूपमा स्थापित हुँदै गएको छ। उनका ‘आगो (सिद्धान्त र प्रयोग)’ तथा ‘सप्तरंगी सुमन’ कृतिहरू प्रकाशित भइसकेका छन्।
हाल उनी ‘आगो लघुकविता सदन (आलस)’ मार्फत दैनिक रूपमा आगो, मुक्तागो तथा गजलागो विधाका रचनाहरू सिर्जना तथा प्रकाशन गर्दै आएका छन्। साथै विभिन्न पत्रपत्रिकामा वैचारिक लेख प्रकाशन गरी साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय रहेका छन्।
यसअघि पनि उनले शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार’ सहित विभिन्न सम्मान प्राप्त गरिसकेका छन्। साथै गुगुल्डी वाङ्मय प्रतिष्ठान, मानसखण्ड फाउन्डेसन तथा अर्घाखाँची साहित्य समाज लगायतका संस्थाबाट समेत सम्मानित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित