बहुमतको समर्थनमा सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सार्थक व्युरो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतका आधारमा स्वीकृत भएको छ।
शनिबार बसेको प्रदेश सभा बैठकले सरकारद्वारा पेश गरिएको नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको हो। यसअघि जेठ १८ गते प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षी दलहरूले विभिन्न विषयमा असहमति र आलोचना व्यक्त गरेका थिए। यद्यपि बहुमतको समर्थनपछि कार्यक्रम पारित भएको हो।
छलफलका क्रममा उठाइएका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै मुख्यमन्त्री शाहले सांसदहरूबाट प्राप्त सुझावलाई आगामी बजेट निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नीति तथा कार्यक्रमका विषयमा प्रदेश सभामा गम्भीर खालका मतभेद नदेखिएको उल्लेख गर्दै उहाँले सबै दलका सदस्यप्रति आभार व्यक्त गर्नुभयो।
प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रम विकसित मुलुक मलेसिया र सिङ्गापुरको जस्तो देखिए पनि बजेट भने सुडान र सोमालियाको स्तरको नबनोस् भन्ने टिप्पणी गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहले आएका सुझावलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको बताउनुभयो।
उहाँले आगामी बजेट तथा कार्यक्रम तयार गर्दा प्रदेश सभा सदस्यहरूले दिएका सुझाव र प्राथमिकतालाई ध्यानमा राखिने उल्लेख गर्दै योजना तथा आयोजनाको छनोटमा समेत सहकार्यको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
कालापानी, रानीसैन घटनासम्बन्धी विषय, विभिन्न कानुनी व्यवस्थाको कार्यान्वयन तथा प्रदेश राजधानी निर्माणलगायतका मुद्दामा पनि सबै पक्षसँग आवश्यक छलफल गरी सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री शाहले जनाउनुभयो।
उहाँले प्रदेश सभामा उपस्थित भई सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख नजिर मियाँप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित