गाइमारे चुरे वनको टेम्पो घटना छानबिन गर्न प्रदेश सरकारद्वारा समिति गठन

सार्थक ब्यूरो । कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो भिरबाट खसेको भनिएको घटनाको यथार्थ पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा समिति गठन गरेको हो। समितिलाई घटनासम्बन्धी सबै पक्षको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बताएका छन्।
गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीले सञ्चालन गरेको अतिक्रमण हटाउने अभियानका क्रममा गोदावरी सामुदायिक वन क्षेत्रमा रहेको एक टेम्पो भिरबाट खसालिएको भन्दै विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा फोटो र भिडियो सार्वजनिक भएका थिए। घटनापछि वन कार्यालयको कार्यप्रणालीमाथि प्रश्न उठ्न थालेपछि प्रदेश सरकारले औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु गरेको हो।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्यका रूपमा रहेका छन्।
मन्त्रालयका अनुसार समितिलाई घटनासम्बन्धी प्रमाण संकलन गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने तथा सबै पक्षको निष्पक्ष र वस्तुगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।
घटनापछि वन कर्मचारीहरूको भूमिकालाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा व्यापक बहस भइरहेको छ। प्रदेश सरकारले छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
यसअघि जेठ ३१ गते डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरले पत्रकार सम्मेलनमार्फत टेम्पोलाई नियोजित रूपमा भिरबाट नखसालिएको दाबी गरेका थिए। हाल ठाकुरसहित घटनासँग सम्बन्धित अन्य कर्मचारीहरू जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा रही सोधपुछमा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित