सार्थक ब्यूरो । कञ्चनपुर जिल्लाका पाँच वटा विद्यालयमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) अन्तर्गतको प्रशिक्षण कार्यक्रम सञ्चालनमा आएको छ। सोमबारदेखि जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरूमा तालिम औपचारिक रूपमा सुरु गरिएको हो।
तालिम बेलौरी नगरपालिकास्थित उग्रतारा बाल विद्यालय, लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालय, पुनर्वास नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय तथा भीमदत्त नगरपालिकाका लिटिल स्टार पब्लिक माध्यमिक विद्यालय र सनराइज पब्लिक सेकेन्डरी स्कुलमा सञ्चालन भइरहेको छ।
बराहदल गुल्म भगतपुर ब्यारेकका सेनानी अशोक शाहीका अनुसार कार्यक्रममा १५० जना विद्यार्थी सहभागी भएका छन्। उनले तालिमको अवधि १०० दिन रहने जानकारी दिँदै ७९ दिन विद्यालयमै प्रशिक्षण सञ्चालन हुने र बाँकी २१ दिन कोहलपुरमा विशेष प्रशिक्षण दिइने बताए।
सेनानी शाहीले अनुशासित, जिम्मेवार, देशप्रेमी, आत्मविश्वासी तथा नेतृत्व क्षमता भएका नागरिक उत्पादन गर्ने उद्देश्यसहित नेपाली सेनाले विसं २०२६ सालदेखि राष्ट्रिय सेवा दलको प्रशिक्षण सञ्चालन गर्दै आएको उल्लेख गरे। उनका अनुसार तालिममार्फत विद्यार्थीहरूलाई व्यवहारिक तथा जीवनोपयोगी सीप विकासमा जोड दिइनेछ।
प्रशिक्षणका क्रममा शारीरिक व्यायाम, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पीटी, नक्सा अध्ययन (म्याप रिडिङ) लगायतका विविध गतिविधि समावेश गरिएको छ।
नेपाली सेनाले राष्ट्रिय सेवा दल कार्यक्रमलाई जुनियर र सिनियर गरी दुई तहमा सञ्चालन गर्दै आएको छ। कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई जुनियर डिभिजन तथा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सिनियर डिभिजनअन्तर्गत प्रशिक्षण प्रदान गरिन्छ। सिनियर डिभिजनका सहभागीलाई हतियार सञ्चालनसम्बन्धी आधारभूत जानकारीसमेत दिइने व्यवस्था रहेको सेनाले जनाएको छ।

















Discussion about this post