सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनअन्तर्गतको प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। प्रदेशभर छनोट भएका २० सामुदायिक तथा निजी विद्यालयमा सोमबारदेखि तालिम सञ्चालनमा आएको सुदूरपश्चिम पृतनाले जनाएको छ।
विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम तथा सामूहिक कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। तालिममार्फत विपद् व्यवस्थापन, ट्राफिक सचेतना, आत्मरक्षा, राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा जिम्मेवार नागरिक बन्न आवश्यक सीपहरू प्रदान गरिने सेनाले जनाएको छ।
पृतनाका अनुसार कैलालीका ६ विद्यालय, कञ्चनपुरका ५ विद्यालय, अछाम र बैतडीका २/२ विद्यालय तथा डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुलाका १/१ विद्यालयमा तालिम सञ्चालन भइरहेको छ।
कञ्चनपुरमा सञ्चालन गरिएको सी.स. ५२ एनसीसी ब्याचको राष्ट्रिय सेवा दल जुनियर तालिमबारे जानकारी दिँदै बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी अशोक शाहीले तालिम अवधि १०० दिनको रहने बताए। उनका अनुसार अधिकांश समय जिल्लामै प्रशिक्षण सञ्चालन गरिनेछ भने अन्तिम चरणको विशेष प्रशिक्षणका लागि विद्यार्थीलाई जिल्ला बाहिर लगिने व्यवस्था गरिएको छ।
सेनानी शाहीका अनुसार तालिमका क्रममा विद्यार्थीहरूलाई अनुशासन, इमान्दारिता, जिम्मेवारीबोध, राष्ट्रप्रतिको समर्पण र नेतृत्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ। साथै ड्रिल, खुकुरी ड्रिल, टेक्वान्दो, एरोबिक्स तथा फिल्ड क्राफ्टलगायतका व्यवहारिक अभ्याससमेत समावेश गरिएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्रका तीन विद्यालयमा आयोजित कार्यक्रमको उद्घाटन सेनानी शाहीले गरेका थिए भने महेन्द्रनगर क्षेत्रका दुई विद्यालयमा सञ्चालित तालिमको उद्घाटन श्री नं. २५ बाहिनी अड्डाका सैनिक अधिकारीहरूले गरेका थिए।
सुदूरपश्चिम प्रदेशका २० विद्यालयबाट करिब ६ सय विद्यार्थी प्रशिक्षणमा सहभागी रहेको पृतनाले जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय भ्रमण तथा विशेष अवसर प्रदान गर्ने व्यवस्था समेत रहेको सेनाले उल्लेख गरेको छ।

















Discussion about this post