नेपाल टेलिभिजनका खरिद प्रक्रियामाथि अध्ययन गर्न चार सदस्यीय समिति

सार्थक ब्यूरो । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न चरणमा सम्पन्न गरेका उपकरण तथा प्रविधिसम्बन्धी खरिद प्रक्रियाको समीक्षा तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयले जानकारी दिएअनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत डा. सुदीप भट्टराईको नेतृत्वमा उक्त समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनसँग सम्बन्धित उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणाली खरिदका विषयमा प्राप्त उजुरी, प्रतिवेदन र सार्वजनिक चासोका मुद्दाहरूको वस्तुगत अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ।
समितिलाई ग्राफिक्स प्रणाली, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन प्रणालीलगायतका विषयमा विस्तृत अनुसन्धान गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
उल्लेखित खरिद प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न निकायमा गुनासा तथा उजुरीहरू परेकाले ती विषयको यथार्थ अवस्था बुझ्न मन्त्रालयले आन्तरिक प्रयोजनका लागि छानबिन समिति गठन गरेको बताइएको छ।
नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रसारण प्रणाली तथा प्रविधि आधुनिकीकरणका नाममा भएका विभिन्न खरिद प्रक्रियामाथि पारदर्शिता, प्रतिस्पर्धात्मकता र कानुनी प्रक्रिया पालना गरिएको वा नगरिएको विषयमा प्रश्न उठ्दै आएका छन्।
यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिदसम्बन्धी विषयमा अनुसन्धान गर्न छुट्टै छानबिन समिति गठन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित