सार्थक ब्यूरो । कञ्चनपुर जिल्लाका स्थानीय तहहरूले इन्धन खर्चमा अपेक्षित मितव्ययिता नअपनाएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार जिल्लाका आठवटा स्थानीय तहले इन्धन शीर्षकमा कुल ७ करोड १६ लाख ९८ हजार रुपैयाँ खर्च गरेका छन्।
प्रतिवेदनमा स्थानीय तहहरूले सवारीसाधन मर्मतका लागि आवश्यक व्यवस्थापन नगरी तथा लागत अनुमान स्वीकृत नगरी विभिन्न मर्मत कार्यमा प्रत्यक्ष भुक्तानी गर्दा अनावश्यक खर्च बढेको उल्लेख गरिएको छ।
जिल्लाको सदरमुकाममा रहेको भीमदत्त नगरपालिका ले सबैभन्दा बढी इन्धन खर्च गरेको देखिएको छ। उक्त नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा इन्धनका लागि मात्रै २ करोड ८७ लाख ८६ हजार १६५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा जनाइएको छ। करिब ३०० कर्मचारी कार्यरत रहेको नगरपालिकामा अर्थ मन्त्रालयको निर्देशिकाअनुसार प्रतिकर्मचारी मासिक १० लिटरसम्म इन्धन उपलब्ध गराउन सकिने व्यवस्था भए पनि पदाधिकारी, कर्मचारी तथा निर्माण कार्यमा प्रयोग भएको इन्धनको अद्यावधिक अभिलेख नराखिएको उल्लेख गरिएको छ। साथै, प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई सवारी मर्मत शीर्षकमा ३५ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको छ।
वेदकोट नगरपालिका ले सोही अवधिमा ६७ लाख ५६ हजार ९८८ रुपैयाँ इन्धनमा खर्च गरेको छ। तर सवारीसाधन प्रयोग गर्ने पदाधिकारीको इन्धन उपयोग विवरण तथा खपत मापदण्ड तयार नगरिएकाले खर्चको यथार्थ मूल्याङ्कन गर्न कठिन भएको महालेखाले जनाएको छ।
त्यसैगरी, दोधारा चाँदनी नगरपालिका ले कार्यालय प्रयोजन, पदाधिकारी तथा अन्य कार्यमा गरी ६५ लाख ५२ हजार ६२९ रुपैयाँ इन्धन खर्च गरेको छ। यहाँ पनि इन्धन प्रयोगसम्बन्धी व्यवस्थित अभिलेख नराखिएको प्रतिवेदनमा उल्लेख छ। नगरपालिकाले सवारी मर्मत केन्द्र स्थापना नगरी विभिन्न कार्यशालालाई सिधै ३४ लाख ९८ हजार ९८९ रुपैयाँ भुक्तानी गरेको तथ्यसमेत प्रतिवेदनमा समावेश छ।
लालझाडी गाउँपालिका ले पदाधिकारी तथा अन्य प्रयोजनमा गरी ३७ लाख ७२ हजार ६४० रुपैयाँ इन्धन खर्च गरेको छ। तर खर्चको विवरण स्पष्ट देखिने अभिलेख नराखिएको भन्दै महालेखाले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमार्फत खर्च व्यवस्थापन गर्न सुझाव दिएको छ।
यस्तै, बेलडाँडी गाउँपालिका ले कर्मचारी प्रोत्साहन भत्ता तथा अन्य प्रयोजनसहित इन्धन शीर्षकमा ४८ लाख ३९२ रुपैयाँ खर्च गरेको देखिएको छ।
कृष्णपुर नगरपालिका ले कार्यालय तथा अन्य प्रयोजनका लागि गरी ९१ लाख ३९ हजार ५४८ रुपैयाँ इन्धन खर्च गरेको छ। साथै, प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई सवारी मर्मतमा ६९ लाख ३१ हजार ६१० रुपैयाँ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, बेलौरी नगरपालिका ले आर्थिक वर्ष २०८१/८२ मा इन्धन शीर्षकमा ५० लाख रुपैयाँ खर्च गरेको जनाएको छ।
महालेखा परीक्षकको कार्यालयले इन्धन खर्चको अभिलेखीकरणलाई व्यवस्थित बनाउन, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गर्न तथा यस्ता खर्चमा मितव्ययिता अपनाउन सम्बन्धित स्थानीय तहहरूलाई सुझाव दिएको छ।


















Discussion about this post