चुरे गाउँपालिकाद्वारा भैँसी र बाख्रापालक किसानलाई अनुदान, एकल महिलालाई बाख्रा वितरण

सार्थक ब्यूरो । कैलालीको चुरे गाउँपालिका ले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले व्यावसायिक रूपमा भैँसी तथा बाख्रा पालन गर्दै आएका किसानलाई अनुदान उपलब्ध गराएको छ। दुग्ध उत्पादन वृद्धि गर्दै गाउँपालिकालाई कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत छवटै वडाका १० जना व्यावसायिक भैँसीपालक किसानलाई प्रतिव्यक्ति एक भैँसी बराबर ५० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले जानकारी दिनुभयो।
गाउँपालिकाले भैँसीपालनसँगै बाख्रापालन व्यवसायलाई पनि प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहनस्वरूप अनुदान प्रदान गरेको जनाएको छ। चालु आर्थिक वर्षमा भैँसी प्रवर्द्धनका लागि पाँच लाख रुपैयाँ तथा बाख्रापालन प्रवर्द्धनका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
पशु शाखाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गर्न व्यावसायिक फर्ममा कम्तीमा दुई वटा माउ भैँसी हुनुपर्ने तथा समूहका हकमा कम्तीमा ३० वटा माउ भैँसी आवश्यक पर्ने व्यवस्था गरिएको छ। त्यस्तै, बाख्रा प्रवर्द्धन कार्यक्रमका लागि फर्ममा न्यूनतम ३० वटा र समूहमा कम्तीमा २०० वटा माउ बाख्रा हुनुपर्ने मापदण्ड तोकिएको छ।
यसैबीच, चुरे गाउँपालिका–६ ले आर्थिक रूपमा कमजोर तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले बाख्रा वितरण कार्यक्रम सञ्चालन गरेको छ। वडा कार्यालयले एक लाख रुपैयाँ बजेटबाट १० जना एकल महिलालाई बाख्रा उपलब्ध गराएको जनाएको छ।
वडाध्यक्ष प्रेमबहादुर साउदका अनुसार आयआर्जनका अवसर सिर्जना गर्दै विपन्न तथा असहाय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो। गाउँपालिकाले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा पशुपालन व्यवसाय विस्तार हुनुका साथै किसानको आर्थिक अवस्था सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित