बुलबुलेमा बुद्ध प्रतिमा स्थापना, बौद्ध अम्बेडकर पार्क निर्माणको शुभारम्भ

सार्थक ब्यूरो । कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुले क्षेत्रमा बुद्ध प्रतिमा स्थापना गरिएको छ भने बौद्ध अम्बेडकर पार्क निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आयोजित कार्यक्रममा सहभागी हुँदै प्रतिमाको अनावरण तथा पार्कको शिलान्यास गरेका हुन्।
नेपाल बौद्ध अम्बेडकर महासभाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख मियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सो क्रममा उनले वर र पिपलका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश भाषा, धर्म र संस्कृतिको विविधताले समृद्ध रहेको उल्लेख गरे। उनले धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता संरचनाले सामाजिक सद्भाव कायम गर्न, प्रदेशको आकर्षण बढाउन तथा पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने धारणा व्यक्त गरे।
उनले बुलबुले क्षेत्रमा रहेको प्राकृतिक पानीको मुहान र त्यसबाट निस्कने बुलबुलाको दृश्यलाई अनौठो तथा मनमोहक भन्दै उक्त क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको बताए। पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
महासभाका अध्यक्ष मनोज जैगडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बौद्ध गुम्बाका भिक्षु, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजकका अनुसार बुद्ध प्रतिमा स्थापना र अम्बेडकर पार्क निर्माणले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न, सामाजिक एकतालाई बलियो बनाउन तथा स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित