सार्थक ब्यूरो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेष अदालतले दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो।
यस प्रकरणमा कुल ३९ प्रतिवादी रहेकामा ३४ जना व्यक्ति र पाँच कम्पनी समावेश छन्। अभियोगपत्रअनुसार भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। त्यस्तै, अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र व्यवसायी शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ।
अनुसन्धानका क्रममा प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते तथा गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त अनुसन्धानपछि दायर गरिएको अभियोगपत्रमा आर्थिक वर्ष २०७४/७५ मा भट्टको स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्याङ्कनबाट ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम थप सम्पत्तिका रूपमा देखिएको उल्लेख छ।
यस्तै, भट्टसँग सम्बन्धित इन्फिनिटी होल्डिङ्स प्रालिको पुँजी आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँले वृद्धि गरिएको अभियोजन पक्षको दाबी छ। उक्त लगानीको स्रोत बैंकिङ कसुर तथा कर्जा अपचलनबाट प्राप्त भएको हुनसक्ने आशंका अनुसन्धान प्रतिवेदनमा औँल्याइएको छ।
भट्ट र अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र तथा बीमा कसुरसम्बन्धी मुद्दा र पाटन उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।


















Discussion about this post