शुक्लाफाँटामा कृष्णसारको संख्या ३१३ पुग्यो, संरक्षणसँगै व्यवस्थापनको चुनौती बढ्दै

सार्थक ब्यूरो । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३१३ पुगेको छ। करिब डेढ दशकअघि सुरु गरिएको संरक्षण अभियान सफल बन्दै गएपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो। यद्यपि, बढ्दो संख्यासँगै तिनको व्यवस्थापन र संरक्षणलाई थप प्रभावकारी बनाउने चुनौती पनि देखिन थालेको छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार हाल संरक्षण क्षेत्रमा ८१ वयस्क भाले, २० अर्धवयस्क भाले, १०२ वयस्क पोथी, २६ अर्धवयस्क पोथी तथा ८४ वटा पाठापाठी रहेका छन्। संरक्षण प्रयास सफल हुँदै गएपछि कृष्णसारको संख्या निरन्तर बढिरहेको उनले बताए।
उनका अनुसार सीमित क्षेत्रभित्र अत्यधिक संख्या हुँदा रोगको जोखिम बढ्न सक्ने भएकाले केही कृष्णसारलाई प्राकृतिक बासस्थानमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे अध्ययन भइरहेको छ। वन तथा वातावरण मन्त्रालयको नीतिअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट कृष्णसारलाई चितवनमा पुनःस्थापना गर्ने तयारी पनि अघि बढाइएको छ।
वंशानुगत विविधता कायम राख्न तथा दीर्घकालीन संरक्षणलाई प्रभावकारी बनाउन कृष्णसारलाई विभिन्न क्षेत्रमा फैलाएर संरक्षण गर्नु आवश्यक रहेको निकुञ्जको भनाइ छ। हाल हीरापुर संरक्षण क्षेत्रमा ५८ दशमलव ८ हेक्टर क्षेत्रफल तारबार गरी संरक्षण गरिएको छ। सन् २०१२ मा ७ दशमलव ५ हेक्टर क्षेत्रबाट सुरु गरिएको संरक्षण कार्यक्रम विस्तार हुँदै अहिलेको आकारमा पुगेको हो।
कृष्णसार खुला घाँसे मैदानमा बस्न रुचाउने प्रजाति भएकाले प्राकृतिक वातावरणमा छाड्दा चितुवा, भुस्याहा कुकुर तथा चोरी सिकारीबाट सुरक्षा दिनुपर्ने चुनौती रहेको छ। साथै छाडा चौपायाबाट सर्ने संक्रामक रोगले पनि संरक्षण प्रयासलाई प्रभावित पार्न सक्ने निकुञ्जले जनाएको छ।
निकुञ्जले चरन क्षेत्र संरक्षण, घाँसे मैदान व्यवस्थापन तथा मकै, मसुरो लगायतका बाली रोपेर आहार व्यवस्थापन गर्दै आएको छ। तर नियमित बजेटको अभावका कारण पछिल्ला वर्षहरूमा स्रोत व्यवस्थापनमा कठिनाइ भइरहेको सूचना अधिकारी वाग्लेले बताए।
शुक्लाफाँटामा कृष्णसार पुनःस्थापनाको काम सन् २०१२ मा नेपालगञ्जस्थित मिनी चिडियाखानाबाट २२ वटा कृष्णसार ल्याएर सुरु गरिएको थियो। सोही वर्ष ललितपुरको सदर चिडियाखानाबाट थप ६ वटा कृष्णसार ल्याइयो भने सन् २०१५ मा बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट १४ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो। यसरी विभिन्न स्थानबाट ल्याइएका कुल ४२ वटा कृष्णसारको संख्या हाल बढेर ३१३ पुगेको छ, जुन प्रारम्भिक संख्याको करिब सात गुणा बढी हो।
कृष्णसारको स्वास्थ्य सुरक्षाका लागि नियमित रूपमा दाना, चोकर, ढुटो, मकै र चना खुवाइने गरिएको छ। परजीवीजन्य संक्रमण रोक्न समयसमयमा औषधि मिसाइएको आहारसमेत उपलब्ध गराइने निकुञ्जले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित वन्यजन्तु हो। नेपाल, भारत र बङ्गलादेशका खुला घाँसे मैदानमा एक समय प्रशस्त पाइने यो प्रजाति बासस्थान विनाश, चोरी सिकार र प्राकृतिक विपद्का कारण लोपोन्मुख अवस्थामा पुगेको थियो।
संरक्षणसँगै हीरापुर क्षेत्र आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि विकास हुँदै गएको छ। दुर्लभ कृष्णसार अवलोकनका लागि दैनिक रूपमा पर्यटकहरू यहाँ पुग्ने गरेका छन्। घाँस, दुबो, सिरु र काँस यसको मुख्य आहारा हुन्। हिन्दू धार्मिक मान्यतामा कृष्णसारलाई भगवान् श्रीकृष्णसँग जोडेर पनि हेर्ने गरिन्छ।
सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले कृष्णसार संरक्षण क्षेत्रलाई थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। संरक्षण क्षेत्र नजिकैको सिमलफाँटा बस्तीमा होमस्टे सञ्चालनमा आइसकेको भन्दै उनले यसको स्तरोन्नति गरी पर्यटक आकर्षित गर्ने योजना अघि बढाउनुपर्ने बताए।
निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनयकुमार झाले वन्यजन्तु संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाइएको जानकारी दिए। स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै संरक्षण क्षेत्रलाई अझ व्यवस्थित बनाउने प्रयास जारी रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित