गोदावरीमा शहीद भीमदत्त पन्तको शालिक अनावरण, कर्मथलो कञ्चनपुरमा संरक्षणप्रति बेवास्ता भएको गुनासो

सार्थक ब्यूरो । कैलालीको गोदावरी नगरपालिकामा शहीद भीमदत्त पन्तको शालिक स्थापना गरी सम्मान व्यक्त गरिएको छ भने उनको कर्मथलो मानिने कञ्चनपुरमा रहेका स्मारक तथा शालिक संरक्षणमा स्थानीय तहले आवश्यक चासो नदिएको भन्दै गुनासो बढ्न थालेको छ।
गोदावरी नगरपालिका–५, गेटास्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको शहीद भीमदत्त पन्तको शालिक एक विशेष समारोहका बीच अनावरण गरिएको हो। गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शालिक अनावरण गर्दै शहीद पन्तको त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान नेपाली इतिहासका लागि प्रेरणादायी रहेको बताए।
नगर प्रमुख भट्टले शहीदप्रतिको सम्मान औपचारिक कार्यक्रममा मात्र सीमित नराखी उनीहरूको विचार र आदर्शलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए। उनले सत्य, न्याय, समानता र जनसेवाको भावनालाई आत्मसात् गर्दै समृद्ध समाज निर्माणमा सबैले योगदान दिनुपर्ने धारणा पनि व्यक्त गरे।
शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय इतिहास र राष्ट्रिय विभूतिको सम्मानस्वरूप शहीद भीमदत्त पन्तको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले शालिक निर्माण गरिएको जनाएको छ। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
यता, अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका पदाधिकारी तथा स्थानीयवासीले भने शहीद पन्तको कर्मथलो कञ्चनपुरमा रहेका स्मारक र शालिक संरक्षणमा सम्बन्धित स्थानीय तह उदासीन रहेको बताएका छन्। प्रतिष्ठानको पहलमा भीमदत्त नगरपालिका क्षेत्रमा निर्माण गरिएको भीम वाटिका र त्यहाँ स्थापित शहीद पन्तको शालिक केही समयअघि भएको तोडफोडपछि हालसम्म पूर्ण रूपमा मर्मत हुन नसकेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार भीम वाटिकाको व्यवस्थापनबाट आम्दानी भइरहे पनि त्यसको संरक्षण, मर्मत तथा पूर्वाधार सुधारमा पर्याप्त ध्यान नदिइएको गुनासो छ। प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने शहीद पन्तको स्मृति दिवस तथा जन्मजयन्तीसम्बन्धी कार्यक्रमसमेत वाटिकामा नभई आफ्नै भवनमा गर्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन्।
स्थानीयवासीको भनाइमा शहीद भीमदत्त पन्तको नामबाट नामकरण गरिएको भीमदत्त नगरपालिकाले समेत शहीदको स्मृति संरक्षण तथा प्रवर्द्धनका लागि उल्लेखनीय बजेट विनियोजन गर्न सकेको छैन। यसले शहीदको कर्मथलोमै उनको योगदान ओझेलमा परेको अनुभूति गराएको उनीहरूको तर्क छ।
एकातिर गोदावरी नगरपालिकाले शालिक निर्माणमार्फत शहीद भीमदत्त पन्तप्रति सम्मान प्रकट गरेको छ भने अर्कोतर्फ उनको जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको कञ्चनपुरमा रहेका स्मारक र ऐतिहासिक सम्पदाको संरक्षण तथा व्यवस्थापनमा थप सक्रियता आवश्यक रहेको आवाज स्थानीय स्तरबाट उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित