‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट चयन

सार्थक ब्यूरो । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना र मानवीय संवेदनालाई संगीतमार्फत आम श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।
मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट चयन गरिएका पाँच गीत सार्वजनिक गरिएका हुन्। चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालको सभापतित्व तथा शिक्षाविद् डा. यज्ञेश्वर निरौलाको प्रमुख आतिथ्यता रहेको थियो।
एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ समावेश छन्। तीन गीतमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठको संगीत र स्वर, एक गीतमा वरिष्ठ गायिका ज्ञानु राणाको तथा अर्को गीतमा गायक रमेश पाठकको स्वर रहेको छ।
कार्यक्रममा वक्ताहरूले साहित्यको गहिरो भावलाई संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि महत्त्वपूर्ण भएको धारणा व्यक्त गरे। संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई मूल भाव र छन्द जोगाउँदै गीतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण भए पनि काव्यको आत्मा सुरक्षित राख्ने प्रयास गरिएको बताए।
महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्य गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुशी व्यक्त गर्दै साहित्यलाई समयअनुकूल विभिन्न माध्यमबाट प्रस्तुत गरिनुपर्ने आवश्यकता औँल्याए। प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीतको समन्वयले राष्ट्रिय पहिचान र सांस्कृतिक चेतनाको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्य तथा संस्कृतिमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रममा साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तेह्रथुममा जन्मिएका महाकाव्यकार खेमनाथ दाहाल नेपाली साहित्यका स्थापित स्रष्टा हुन्। ‘श्वेतपत्र’, ‘रश्मि’, ‘योद्धा’, ‘श्रद्धाञ्जलि’, ‘हावर्डको चौतारीमा’, ‘म त बन्दी भएको छु’, ‘यात्राको सिकर्नी’ र ‘अहोरात्र’ लगायतका कृतिमार्फत उनले नेपाली साहित्यमा राष्ट्रिय भावना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित