सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशमा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न थालेका छन्। साउन महिनाको पहिलो १७ दिनमै सर्पले टोकेर ४५ जना प्रभावित भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार साउन १ देखि १७ गतेसम्मको अवधिमा सर्पदंशका कारण एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन्। सोही अवधिमा उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ।
उपलब्ध विवरणअनुसार प्रभावितमध्ये २० जना पुरुष र २४ जना महिला रहेका छन्। मन्त्रालयले सर्पदंशका घटना बढ्दै गएपछि सर्वसाधारणलाई झारफुक वा घरेलु उपचारमा नअल्झिन आग्रह गर्दै सकेसम्म छिटो सर्पदंशको उपचार उपलब्ध हुने स्वास्थ्य संस्थामा पुग्न अनुरोध गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले वर्षायाममा सर्पदंशको जोखिम उल्लेखनीय रूपमा बढ्ने भएकाले नागरिकले विशेष सावधानी अपनाउनुपर्ने बताए। उनका अनुसार घर तथा वरपरको वातावरण सफा राख्ने, झाडी तथा फोहोर हटाउने र सर्पबाट जोगिने उपायबारे जनचेतना फैलाउन सम्बन्धित निकायले थप सक्रियता देखाउन आवश्यक छ।
सबै स्वास्थ्य संस्थामा सर्पदंशको उपचार सेवा उपलब्ध नहुने भएकाले उपचार सुविधा भएका नजिकका अस्पताल वा केन्द्रबारे पहिले नै जानकारी राख्न मन्त्रालयले आग्रह गरेको छ। वर्षायामका बेला विशेषगरी सुदूरपश्चिमका तराई र पहाडी जिल्लामा सर्पदंशका घटना हरेक वर्ष बढ्ने गरेको छ।
मन्त्रालयका अनुसार समयमै एन्टि–भेनम उपलब्ध नहुँदा वा उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्छ। त्यसैले सर्पदंश उपचार केन्द्रको विस्तार, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन तथा आवश्यक औषधिको सहज उपलब्धतामा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
सर्पदंशलाई जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह तथा स्वास्थ्य निकायबीच समन्वय बढाई रोकथाम, उपचार सेवा विस्तार र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।


















Discussion about this post