२०औँ एसियाली खेलकुदमा कञ्चनपुरका नौ खेलाडी र तीन प्रशिक्षक नेपालको प्रतिनिधित्व गर्दै

सार्थक ब्यूरो ।जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा कञ्चनपुरका नौ खेलाडी र तीन प्रशिक्षकले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। व्यक्तिगत तथा टोलीगत खेलमा छनोट भएका उनीहरू हाल विभिन्न स्थानमा प्रशिक्षणरत छन्।
सुदूरपश्चिम प्रदेशमा खेलाडी उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित कञ्चनपुरबाट महिला र पुरुष गरी नौ खेलाडी एसियाडका लागि छनोट भएका हुन्। उनीहरूसँगै कबड्डी, कुस्ती र भलिबलका तीन प्रशिक्षकले पनि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन्।
कबड्डीतर्फ राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टको नेतृत्वमा पुरुष तथा महिला दुवै टोली भारतको हरियाणामा विशेष प्रशिक्षणमा छन्। उनका अनुसार टोलीले करिब डेढ महिनासम्म त्यहाँ अभ्यास गर्नेछ। विगतको अनुभव र हालको तयारीका आधारमा यसपटक दुवै टोलीबाट पदक जित्ने सम्भावना रहेको उनले बताएका छन्।
महिला कबड्डी टोलीमा कञ्चनपुरका मानमति विष्ट, रविना चौधरी, जयन्ती बडु र मनिषा जोशीले स्थान बनाएका छन्। १९औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला टोलीका सदस्य रहेका रविना, जयन्ती र मानमति यसपटक पनि टोलीमा निरन्तरता पाएका छन्।
पुरुष कबड्डीतर्फ पनि कञ्चनपुरका प्रकाश गिरी, सुरज बोहरा र अशोक जोशी राष्ट्रिय टोलीमा समावेश भएका छन्। उनीहरू पनि एसियाडको तयारीका लागि भारतमै प्रशिक्षण गरिरहेका छन्।
जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले नेपाली कबड्डीको विकासमा कञ्चनपुरसहित सुदूरपश्चिमको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा यस क्षेत्रका खेलाडीले निरन्तर उपस्थिति जनाउँदै आएका छन् भने पछिल्लो समय खेल पूर्वाधार र खेलाडीको हितमा पनि विशेष ध्यान दिइएको छ।
कुस्तीतर्फ राष्ट्रिय टोलीका प्रशिक्षक राजेन्द्रबहादुर चन्दको नेतृत्वमा नेपाली टोली भारतको अयोध्यास्थित नन्दनीनगरमा दुई महिने प्रशिक्षणमा व्यस्त छ। टोलीमा रहेका छ खेलाडीमध्ये कञ्चनपुरका सुरेश चुनारा र शिवाङ्गी दुबे पनि छन्।
प्रशिक्षक चन्दका अनुसार अनुभवी भारतीय खेलाडीसँग नियमित अभ्यास गर्ने अवसरले नेपाली टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सुरेशले ७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने शिवाङ्गी ५७ केजी तौल समूहमा मैदान उत्रिनेछिन्। सुरेशका लागि यो तेस्रो एसियाली खेलकुद हुनेछ भने शिवाङ्गी दोस्रोपटक एसियाडमा सहभागी हुँदैछिन्। दुवै खेलाडी हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्।
यस्तै, महिला भलिबल टोलीका मुख्य प्रशिक्षकका रूपमा कञ्चनपुरका जगदीशप्रसाद भट्ट पनि एसियाली खेलकुदमा सहभागी हुनेछन्। उनले लामो समयदेखि कञ्चनपुर तथा सुदूरपश्चिममा भलिबल खेलाडी उत्पादन र आधुनिक प्रशिक्षण प्रणाली विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको नागोया र आइचीमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने तयारी गरेको छ। केही खेलका टोली विदेशमा प्रशिक्षणरत रहेका छन् भने अन्य खेलका खेलाडी स्वदेशमै अन्तिम तयारीमा जुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित