गर्मीबाट राहत खोज्दै बुडर झर्नामा बढ्यो आन्तरिक पर्यटकको आकर्षण

सार्थक ब्यूरो । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडर झर्ना पछिल्लो समय सुदूरपश्चिमका प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यमध्ये एक बन्दै गएको छ। विशेषगरी तराई क्षेत्रमा बढ्दो गर्मीबाट राहत पाउन, प्राकृतिक वातावरणको आनन्द लिन तथा परिवार र साथीभाइसँग घुमफिर गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ।
सार्वजनिक बिदा, शनिबार तथा चाडपर्वका अवसरमा झर्ना क्षेत्रमा विशेष चहलपहल देखिने गरेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार यस्ता दिनमा मात्रै करिब १० हजारसम्म आन्तरिक पर्यटक बुडर झर्ना पुग्ने गरेका छन्। कैलाली, कञ्चनपुर, डोटीका साथै सुदूरपश्चिम बाहिरका जिल्लाबाट समेत पर्यटक आउने क्रम विस्तार हुँदै गएको छ।
स्थानीय राजनीतिककर्मी डिल्ली भट्टले पछिल्ला वर्षहरूमा बुडर झर्नाप्रति सर्वसाधारणको आकर्षण उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार तराईका विभिन्न स्थानबाट रिजर्भ गाडी, निजी सवारीसाधन तथा मोटरसाइकलमार्फत दैनिक सयौँ पर्यटक झर्ना पुग्ने गरेका छन्। विशेषगरी बिदाका दिन पर्यटकको चाप अत्यधिक हुने र त्यसको सकारात्मक प्रभाव स्थानीय व्यापार तथा पर्यटन क्षेत्रमा परेको उनले बताए।
झर्नाको चिसो पानीमा रमाउने, प्राकृतिक दृश्यको अवलोकन गर्ने तथा तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा गर्ने युवापुस्ताको रोजाइमा पनि बुडर झर्ना पर्न थालेको छ। हरियालीले ढाकिएका डाँडाकाँडा, अग्लो चट्टानबाट झर्ने पानी र शान्त प्राकृतिक वातावरणले यो क्षेत्रलाई गर्मीयाममा अझ आकर्षक बनाएको छ।
झर्नासम्म पुग्ने कालोपत्रे सडक निर्माण भएपछि पर्यटकलाई आवतजावतमा सहज भएको छ। पार्किङ स्थल, भ्यू प्वाइन्ट, विश्रामस्थललगायतका पूर्वाधार थपिएसँगै परिवारसहित भ्रमण गर्ने पर्यटकलाई सुविधा पुगेको स्थानीयको भनाइ छ।
पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, रेष्टुरेन्ट, चिया पसल तथा अन्य साना व्यवसायको कारोबारमा पनि वृद्धि भएको छ। स्थानीय उत्पादनको बिक्री बढ्नुका साथै रोजगारीका अवसर सिर्जना भएकाले पर्यटनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको व्यवसायीहरू बताउँछन्।
स्थानीयवासीले बुडर झर्नालाई राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार विस्तार, सरसफाइ, सुरक्षा व्यवस्थापन तथा प्रभावकारी प्रचारप्रसारमा तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार योजनाबद्ध लगानी र दीर्घकालीन विकास रणनीति अपनाउन सके बुडर झर्ना सुदूरपश्चिमकै पर्यटन प्रवर्द्धनको प्रमुख केन्द्रका रूपमा स्थापित हुन सक्छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुडर झर्ना अहिले तराईका बासिन्दाका लागि गर्मी छल्ने लोकप्रिय गन्तव्य मात्र नभई सुदूरपश्चिमको पर्यटन सम्भावनालाई उजागर गर्ने महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा परिचित हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित