धनगढी उपमहानगरमा ‘पेपरलेस’ सेवा सुरु, अधिकांश काम अब अनलाइनबाटै हुने

सार्थक ब्यूरो । धनगढी उपमहानगरपालिकाले सरकारी सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै ‘पेपरलेस धनगढी’ अभियानको औपचारिक सुरुआत गरेको छ। यस अभियानमार्फत सेवाग्राहीले अधिकांश नगरपालिका सेवा अब घरबाटै अनलाइन माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले ‘युनिफाइड डिजिटल गभर्नेन्स प्लेटफर्म (यूडीजीपी)’ सञ्चालनमा ल्याइएको जानकारी दिँदै यसले सेवा प्रवाहलाई छिटो, सहज, पारदर्शी र झन्झटमुक्त बनाउने विश्वास व्यक्त गरेको हो।
उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार धनगढीमा बसोबास गर्ने जनसंख्या निरन्तर बढिरहेकाले वास्तविक नगरवासी र करदाताको तथ्यांक व्यवस्थित गर्न डिजिटल प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। यसबाट नगरवासीलाई प्राथमिकताका आधारमा सेवा तथा सुविधा प्रदान गर्न समेत सहज हुने उनले बताए।
उनका अनुसार यूडीजीपीमार्फत उपमहानगरका सम्पूर्ण डिजिटल सेवा एउटै प्रणालीमा समेटिएका छन्। यसअघि विभिन्न सफ्टवेयरमार्फत सेवा सञ्चालन हुँदा नागरिकका विवरण छुट्टाछुट्टै रहने समस्या थियो भने अब सबै अभिलेख एउटै डिजिटल प्लेटफर्ममा सुरक्षित रहनेछन्। साथै, एकपटक प्रणालीमा अपलोड गरिएका कागजात पुनः बुझाउनुपर्ने बाध्यता पनि हट्ने बताइएको छ।
उपमहानगरपालिकाले पहिलो चरणमा सबै १९ वटै वडाका सचिवलाई नयाँ प्रणाली सञ्चालनसम्बन्धी तालिम दिइसकेको जनाएको छ। तालिममा ई–केवाईसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ र डिजिटल सेवाको प्रभावकारी सञ्चालनका विषय समेटिएका छन्।
डिजिटल सेवा प्रयोग गर्न कठिनाइ हुने सेवाग्राहीलाई लक्षित गर्दै कार्यालय परिसरमा हेल्पडेस्क स्थापना गरिने भएको छ। हेल्पडेस्कमा खटिने कर्मचारीले सेवाग्राहीको विवरण प्रणालीमा दर्ता गरिदिने तथा आवश्यक सेवा लिन सहयोग गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका अधिकांश सेवा अनलाइनबाटै उपलब्ध हुनेछन्। आवश्यक कागजात अपुग भए वा कुनै समस्या देखिएमा सेवाग्राहीको मोबाइलमा तत्काल सूचना पठाइनेछ। सेवा सम्पन्न भएपछि सम्बन्धित कागजात डिजिटल रूपमा मोबाइलमै प्राप्त हुने र त्यसमा रहेको क्यूआर कोडमार्फत प्रमाणीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
उपमहानगरका अनुसार यूडीजीपी प्रणालीमा ई–सिग्नेचर, डिजिटल अभिलेख व्यवस्थापन, गुनासो तथा सुझाव व्यवस्थापन, कार्यालय टिप्पणी प्रणाली, डिजिटल भुक्तानी तथा राजस्व संकलन, विकास आयोजना अनुगमन, सार्वजनिक सूचना प्रवाह, कार्यालय विवरण व्यवस्थापन, विपद् व्यवस्थापन, डेटा विश्लेषण तथा डेटा सुरक्षा लगायतका सेवा समावेश गरिएका छन्।
उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ अभियानले प्रशासनिक खर्च घटाउनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै सुशासन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित