प्रेस स्वतन्त्रताको मागसहित पत्रकार महासंघ सुदूरपश्चिमको पाँचौं साधारणसभा सम्पन्न

सार्थक ब्यूरो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौं साधारणसभा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै ‘धनगढी घोषणापत्र’ जारी गरी सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले लोकतन्त्रको स्थापना, संरक्षण र सुदृढीकरणमा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। उनले पत्रकारिताले लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड भएको बताए।
प्रदेश प्रमुख मियाँले पत्रकारिता क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै सुदूरपश्चिम प्रदेशका प्राकृतिक, भौगोलिक तथा पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए। उनले सुशासन, पारदर्शिता र जवाफदेहिताको विकासमा पत्रकारिताको योगदान उल्लेखनीय रहेको धारणा राखे।
महासंघको पाँचौं साधारणसभाले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको संरक्षणका लागि प्रेस स्वतन्त्रताको प्रत्याभूति आवश्यक रहेको निष्कर्षसहित नौ बुँदे ‘धनगढी घोषणापत्र’ सार्वजनिक गरेको छ। घोषणापत्रमा संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि सरकार र राजनीतिक दलहरूले त्यसको पूर्ण कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
महासंघले निजी सञ्चारमाध्यमलाई निरुत्साहित गर्ने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय स्वतन्त्र प्रेसमाथिको प्रहार भएको ठहर गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। साथै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको सञ्चार विधेयक प्रेसमैत्री प्रावधानसहित यथाशीघ्र पारित गर्न आग्रह गरिएको छ।
घोषणापत्रमा सूचना प्रविधिको विकाससँगै बढ्दै गएको गलत, भ्रामक तथा मिथ्या सूचनाले विश्वसनीय पत्रकारितामाथि चुनौती सिर्जना गरेको उल्लेख गर्दै पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना, तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत नागरिकलाई सत्य, सन्तुलित तथा विश्वसनीय सूचना प्रवाह गर्न आह्वान गरिएको छ। सूचनाको हकको पूर्ण कार्यान्वयन, श्रमजीवी पत्रकारहरूको पेशागत तथा आर्थिक सुरक्षाको प्रत्याभूति, महासंघको सदस्यता शुद्धीकरण तथा संस्थागत सुदृढीकरणप्रति समेत प्रतिबद्धता जनाइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नीतु पण्डितले विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा पत्रकारहरूले खेलेको भूमिकाको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताइन्।
साधारणसभाको अवसरमा पत्रकारिता, सामाजिक सेवा तथा संस्थागत विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। अग्रज पत्रकारिता सम्मानबाट कञ्चनपुरका हरि प्रसाद जोशी ,चित्रांग थापा, डिआर पन्त,खेम भण्डारी, वीरबहादुर चन्द, माधव धामी, कैलालीका सिद्धराज भट्ट,उमीद वागचन्द, यज्ञराज यात्री,मनमोहन स्वार, बैतडीका लक्ष्मीदत्त पाण्डे, सम्मानित भएका छन्।
त्यसैगरी महासंघको संस्थागत विकास र नेतृत्वदायी भूमिकाको कदर गर्दै अर्जुन शाह तथा निवर्तमान अध्यक्ष योगेश रावललाई कदरपत्र प्रदान गरिएको छ। सामाजिक सेवामार्फत समाजमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै धनगढीस्थित नजजीवन अस्पताल प्रालि, निसर्ग हस्पिटल प्रालि तथा चैतन्य पाठशालालाई सामाजिक सेवा सम्मान प्रदान गरिएको छ।
महासंघले सुदूरपश्चिम प्रदेश समिति तथा नौवटै जिल्ला शाखाको संस्थागत सुदृढीकरण, सञ्चार संस्थाको सबलीकरण, पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारसँग विशेष आग्रह गरेको छ।
सुदूरपश्चिमका नौ जिल्लाका पत्रकार, सञ्चारकर्मी, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको साधारणसभा महासंघका प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवराज भट्टले गरेका थिए।
साधारणसभाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने महासंघका केन्द्रीय समिति, पूर्व पदाधिकारी, जिल्ला अध्यक्ष, प्रदेश परिषद् सदस्य तथा सहयोगी निकायहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँ र केन्द्रीय उपाध्यक्ष नीतु पण्डितप्रति आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित