सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पार्टीका संस्थापक नेता रवि लामिछाने पुनः सभापतिमा निर्विरोध चयन भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने निर्धारित अवधिमा लामिछाने बाहेक अन्य कुनै दाबी नपरेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्।
लामिछानेलाई सभापति पदमा चयन गर्नुपर्ने प्रस्ताव पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले प्रस्तुत गरेका थिए। २०७९ असार ७ गते पार्टी स्थापना गरेयता लामिछानेले नेतृत्व सम्हाल्दै आएका छन्। चितवनमा जारी महाधिवेशनबाट उनी पुनः पार्टीको शीर्ष नेतृत्वमा चयन भएका हुन्।
महाधिवेशनअन्तर्गत सोमबार तय गरिएको बन्दसत्र प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण निर्धारित समयभन्दा ढिलो गरी मंगलबार दिउँसो मात्र सुरु भएको थियो।
बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव पेश गरेका थिए। त्यसैगरी महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक तथा लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए।
यसैबीच, निर्वाचनमार्फत चयन हुने ९९ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया पनि अघि बढाइएको छ। केन्द्रीय सदस्य पदका आकांक्षीले उम्मेदवारी दर्ताका लागि २१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ।
निर्वाचन आयोगले केन्द्रीय सदस्य चयनका लागि बुधबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको जनाएको छ।


















Discussion about this post