गोदावरी टेम्पो प्रकरणमा सहमति, पीडितलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराइने

सार्थक ब्यूरो । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन कर्मचारीले टेम्पोलाई भीरबाट खसालेको घटनासम्बन्धी विवाद अन्ततः आपसी सहमतिमार्फत समाधान भएको छ। छानबिन प्रतिवेदन सार्वजनिक हुनुअघि नै पीडित पक्षलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि प्रकरण टुङ्गिएको हो।
जेठ २९ गते भीमदत्त राजमार्गअन्तर्गत बासपानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरी–४ निवासी ४४ वर्षीया धनादेवी धामीको टेम्पोलाई भीरबाट धकेलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। त्यसपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिलाई घटनाबारे विस्तृत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। समितिका संयोजक विष्टले पीडित पक्षसँग भएको छलफलपछि क्षतिपूर्तिसम्बन्धी सहमति जुटेकाले विवाद समाधान भएको जानकारी दिए।
घटनापछि धनादेवी धामीले भत्काइएका संरचनाको पुनर्निर्माण, सुरक्षित बसोबासको व्यवस्था तथा १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै आएकी थिइन्। तर वन क्षेत्र अतिक्रमण हटाउने कानुनी दायित्व, सरकारी प्रक्रिया र सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी गराइएपछि उनी पाँच लाख रुपैयाँ क्षतिपूर्तिमा सहमत भएकी बताइएको छ।
छानबिनका क्रममा अतिक्रमण हटाउने कार्यमा खटिएका केही कर्मचारीबाट आवश्यकताभन्दा बढी बल प्रयोग भएको निष्कर्ष निकालिएको समितिले जनाएको छ। सोही आधारमा पीडितलाई राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ।
समितिले सडक छेउमा टेम्पो राखेर व्यापार सञ्चालन गर्दा प्रचलित यातायात कानुनअनुसार कारबाही वा जरिवानाको व्यवस्था हुन सक्ने विषय पनि पीडितलाई जानकारी गराइएको उल्लेख गरेको छ।
घटनापछि वन क्षेत्र संरक्षण, अतिक्रमण नियन्त्रण र सरकारी कर्मचारीको कार्यशैलीबारे विभिन्न तहमा बहस सुरु भएको थियो। यद्यपि क्षतिपूर्ति उपलब्ध गराउने सहमतिसँगै चर्चित गोदावरी टेम्पो प्रकरण हालका लागि समाधान भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित