विद्युत् आपूर्ति अनियमित हुँदा कञ्चनपुरका व्यवसायी र कृषक प्रभावित

सार्थक ब्यूरो । कञ्चनपुरमा पछिल्लो समय भइरहेको अघोषित विद्युत् कटौतीका कारण साना तथा मझौला व्यवसाय, कृषि तथा दैनिक जनजीवन प्रभावित बनेको छ। अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनदेखि सिँचाइ व्यवस्थासम्म समस्या सिर्जना गरेको स्थानीयको गुनासो छ।
शुक्लाफाँटा नगरपालिका–१०, प्रगतिटोलमा सञ्चालित कौशल कञ्चन मिनिरलका सञ्चालक गोकर्ण पन्तले पछिल्लो एक महिनादेखि दिनरात अनियमित रूपमा विद्युत् आउने–जाने समस्याले उद्योग सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो। उहाँका अनुसार फिल्टर मोटर नियमित रूपमा सञ्चालन गर्न नसक्दा उत्पादन प्रभावित भएको छ भने उपभोक्ताको मागअनुसार खानेपानी आपूर्ति गर्न समेत समस्या भइरहेको छ। कम भोल्टेजका कारण मेसिनरी उपकरण सञ्चालनमा समेत अवरोध हुने गरेको उहाँको भनाइ छ।
यस्तै, वेदकोट नगरपालिका–७ मा रहेको गोदावरी मिलका सञ्चालक अमित गुप्ताले विद्युत् आपूर्तिको समस्याले उद्योग सञ्चालनमा प्रत्यक्ष असर परेको बताउनुभयो। अनियमित विद्युत्का कारण मोटर बिग्रिएपछि मर्मतमा करिब २० हजार रुपैयाँ खर्च गर्नुपरेको उहाँले जानकारी दिनुभयो। यसले आर्थिक नोक्सानी व्यहोर्नुका साथै श्रमिक व्यवस्थापनमा समेत चुनौती थपिएको उहाँको भनाइ छ।
उहाँका अनुसार अहिले दैनिक ज्यालादारीमा कर्मचारी राखेर विद्युत् उपलब्ध भएको समयमा मात्र मिल सञ्चालन गर्ने अवस्था सिर्जना भएको छ। विद्युत् कटौती अपरिहार्य भए त्यसबारे पूर्वसूचना दिएर निश्चित तालिका सार्वजनिक गर्न व्यवसायीहरूले माग गरेका छन्।
विद्युत् समस्या व्यवसायीमा मात्र सीमित नभई कृषकहरू पनि प्रभावित भएका छन्। धान रोपाइँको व्यस्त समयमा नियमित विद्युत् नहुँदा सिँचाइमा कठिनाइ भइरहेको कृषकहरूको गुनासो छ।
लालझाडी गाउँपालिका–४ का कृषक रमेश रानाले मोटरमार्फत सिँचाइ गरेर धान रोपाइँ गरिरहेको भए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा मोटरमा समस्या आउन थालेको र खेतमा लगाइएको धान सुक्ने अवस्था सिर्जना भएको बताउनुभयो।
स्थानीयवासीले पछिल्ला दिनमा कम भोल्टेज र अघोषित विद्युत् कटौतीका कारण पङ्खा, मोटरलगायत विद्युतीय उपकरणमा बारम्बार खराबी देखिन थालेको गुनासो गरेका छन्।
उता, नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भने अत्यधिक गर्मीका कारण विद्युत्को माग बढेपछि उपलब्ध संरचनाले भार धान्न नसक्दा समस्या देखिएको जनाएको छ। वितरण केन्द्रका प्रमुख सन्तोष श्रेष्ठका अनुसार विभिन्न स्थानमा प्राविधिक खराबी देखिएकाले नियमित आपूर्ति गर्न कठिनाइ भएको हो। मर्मत तथा सुधारको काम भइरहेको र केही दिनभित्र विद्युत् सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित