बैतडी बस दुर्घटना : २२ जनाको धनगढीमा उपचार जारी, एक जना घर फर्किए

सार्थक ब्यूरो । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको डडेल्धुरा अस्पतालमा उपचार चलिरहेको छ। उपचारपछि एक जना भने घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका दशरथचन्द नगरपालिका–४ शाहीलेक निवासी २१ वर्षीय सागर ठगुन्ना उपचारपछि डडेल्धुरा अस्पतालबाट घर फर्किएका छन्। हाल डडेल्धुरामा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनगढीस्थित माया मेट्रो अस्पतालमा १४ जना, केयरटेकर अस्पतालमा चार जना, सीपी अस्पतालमा एक जना तथा अत्तरिया अस्पतालमा एक जना घाइतेको उपचार भइरहेको छ। थप दुई जनालाई पनि उपचारका लागि माया मेट्रो अस्पतालतर्फ लगिएको जानकारी दिइएको छ।
प्रारम्भिक अनुसन्धानले विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा बस अनियन्त्रित भएर सडकबाट तल खसेको देखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि गत असार ५ गते धनगढीबाट बैतडीतर्फ गइरहेको सुदूरपश्चिम यातायातको बस दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक दुर्घटनामा पर्दा एक शिक्षकको ज्यान गएको थियो भने १० जना यात्रु घाइते भएका थिए। छोटो समयमै एउटै राजमार्गमा पुनः दुर्घटना दोहोरिएपछि स्थानीयवासीले यात्रु सुरक्षाका विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित