सार्थक ब्यूरो । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अखाद्य तथा गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको भेटिएपछि केही होटेल तथा मिठाइ पसलमाथि कारबाही गरिएको छ।
आइतबार प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले भीमदत्त नगरपालिका–४ को महेन्द्रनगर बजार, मदनचोक तथा वडा नम्बर ५ को सुकासाल क्षेत्रमा सञ्चालित १५ वटा होटेल, मिठाइ पसल र नास्ता घरको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा महेन्द्रनगर बजारको गल्ली नम्बर १ मा रहेको सिवानी स्विट हाउसमा बिक्रीका लागि राखिएको मिठाइमा किरा भेटिएपछि पसललाई १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धर्मराज उपाध्यायका अनुसार उपभोगका लागि अयोग्य खाद्यवस्तु बिक्रीमा राखिएको पुष्टि भएपछि उक्त कदम चालिएको हो।
यस्तै, सुकासालस्थित ‘भाट जी’ फास्ट फुडमा तयार गरिएको कुखुराको मासुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको पाइएपछि सो खाद्य सामग्री नष्ट गरिएको छ।
त्यसैगरी महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा रहेको गोपाल पाठकको मिठाइ पसलमा पनि गुणस्तरसम्बन्धी शंका देखिएपछि मिठाइको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीले मदनचोक क्षेत्रमा सञ्चालित चाउमिन पसल, बर्गर हाउसलगायत अन्य होटेलमा समेत सरसफाइ, खाद्य सुरक्षाका मापदण्ड र गुणस्तर कायम गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सम्पन्न अनुगमनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार उपभोक्ता हित संरक्षणका लागि नियमित बजार अनुगमनलाई निरन्तरता दिइनेछ।


















Discussion about this post