बजेट बहसभन्दा अघि सुदूरपश्चिम कांग्रेसमाआन्तरिक सक्रियता, दुई मन्त्रीसहित पाँच सांसदबीच छुट्टै छलफल

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि फेरि तीव्र बनेको छ। संसदीय दलको बैठकअघि दुई मन्त्रीसहित पाँच जना प्रदेशसभा सदस्यले छुट्टै बसेर बजेट, पार्टीभित्रको असन्तुष्टि र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार दिउँसो २ बजे आफ्नै सरकारी निवासमा कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। असार १ गते सार्वजनिक गरिएको प्रदेश बजेटमाथि भोलिदेखि प्रदेशसभामा छलफल सुरु हुने तयारी भइरहेका बेला भएको यो आन्तरिक भेटघाटलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।
विश्वसनीय स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा करिब डेढ घण्टा चलेको छलफलमा बजेट बाँडफाँटप्रति देखिएको असन्तुष्टि, पार्टीभित्र विकसित राजनीतिक अवस्था तथा आगामी रणनीतिका विषयमा विचार–विमर्श भएको थियो।
उक्त छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल, सामाजिक विकास मन्त्री बेलबहादुर राना, विधायन तथा प्रदेश मामिला समितिका सभापति देवानसिंह बिष्ट, विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा तथा प्रदेशसभा सदस्य ललिता सुनार सहभागी रहेका थिए।
कांग्रेस नेतृत्वको प्रदेश सरकार सञ्चालनमा रहे पनि बजेट वितरणप्रति असन्तुष्टि बढ्दै जाँदा दलभित्रको आन्तरिक ध्रुवीकरण थप स्पष्ट बन्दै गएको देखिएको छ। यसअघि मुख्यमन्त्री शाहविरुद्ध हस्ताक्षर अभियानमा सक्रिय रहेका आठ सांसदमध्ये यसपटकको छलफलमा पाँच जना मात्रै सहभागी भएका थिए। पदम शाही, गीता चौधरी र जुना दानी भने बैठकमा उपस्थित भएनन्।
स्रोतका अनुसार आज बस्ने संसदीय दलको बैठकमा प्रदेश बजेटसँग सम्बन्धित विषय, सांसदहरूको गुनासो, सरकारको कार्यसम्पादन तथा आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। प्रदेशसभामा बजेटमाथिको बहस सुरु हुनुअघि कांग्रेसभित्र देखिएको असन्तुष्टि व्यवस्थापन र आन्तरिक समीकरण मिलाउने प्रयास बैठकको प्रमुख एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित