३१ असारमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाउने

सार्थक ब्यूरो । नेपालकै एकमात्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालनमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ३१ असारदेखि नयाँ नेतृत्व पाउने भएको छ। विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सोही दिन बिहान १० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिनेट बैठक बोलाइएको छ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार विश्वविद्यालय ऐनअनुसार पदाधिकारी नियुक्तिसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसअघि गठन गरिएको सिफारिस समितिले उपकुलपतिका लागि दुई जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिनेटमा पेश गरिसकेको जनाएको छ।
सिनेटले सिफारिस सूचीमा रहेका उम्मेदवारमध्येबाट एक जनालाई उपकुलपति र अर्को एक जनालाई रजिष्ट्रारमा नियुक्त गर्नेछ। अन्य अधिकांश विश्वविद्यालयमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहे पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भने उपकुलपति चयन गर्ने अधिकार सिनेटलाई प्रदान गरिएको छ। यही व्यवस्था यस विश्वविद्यालयको विशेषता मानिन्छ।
सुदूरपश्चिम प्रदेशमा अवस्थित यो विश्वविद्यालय नेपालमा स्वास्थ्य विज्ञान अध्ययन–अनुसन्धानका लागि स्थापित एकमात्र विश्वविद्यालय हो। त्यसैले नयाँ नेतृत्वको चयनलाई स्वास्थ्य शिक्षा, चिकित्सा अध्ययन तथा विश्वविद्यालयको दीर्घकालीन विकाससँग जोडेर महत्वका साथ हेरिएको छ। नयाँ पदाधिकारी नियुक्तिपछि शैक्षिक, प्राज्ञिक तथा संस्थागत गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित