सार्थक ब्यूरो । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा शनिबार भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको छ।
जिल्ला अस्पताल बझाङमा आवश्यक उपचार सम्भव नभएपछि उनीहरूको हवाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जीप शनिबार दिउँसो केदारस्यूँ गाउँपालिका–७ क्षेत्रमा दुर्घटनामा परेको हो।
हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएकामध्ये दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता तथा केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्। उनीहरूसहित कुल ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी जिल्ला अस्पताल बझाङमा उपचारका लागि भर्ना गरिएको थियो। उद्धारका लागि शनिबार नै नेपाली सेनाको हेलिकोप्टर बझाङ पुगे पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको थियो।
हेलिकोप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेपछि घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएको थियो। त्यसपछि आइतबार पालैपालो दुई–दुई जनाका दरले हेलिकोप्टरबाट नेपालगन्ज रिफर गरिएको हो।


















Discussion about this post