सार्थक ब्यूरो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौँ जिल्ला अदालतमा आज छुट्टै सुनुवाइ हुने भएको छ।
यसअघि न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको थियो। सोही निर्णयपछि कानुनी व्यवस्था अनुसार सजाय निर्धारणका लागि आज पेसी तोकिएको हो।
नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ। यही कानुनी प्रावधानअनुसार अदालतले आजका लागि सजाय निर्धारणको प्रक्रिया अघि बढाउन पेसी निर्धारण गरेको हो।
यस मुद्दामा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई मुख्य कसुरदारका रूपमा दोषी ठहर गरिएको छ। त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहित अन्य केही प्रतिवादीलाई मतियारको भूमिकामा रहेको ठहर गरिएको छ।
अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीलाई समेत आजको पेसीबारे जानकारी गराउँदै सजाय निर्धारणअघि आवश्यक प्रतिवेदन तथा कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।


















Discussion about this post