भीमदत्तमा छाडा पशुचौपायाको समस्या बढ्दो, सडक र खेती दुवै प्रभावित

सार्थक ब्यूरो । भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रमा छाडा पशुचौपायाको समस्या झन् जटिल बन्दै गएको छ। विशेषगरी वडा नम्बर ११ को गड्डाचौकी क्षेत्रमा खुला रूपमा छोडिएका गाईगोरुका कारण सडक सुरक्षा, व्यापार व्यवसाय र कृषिमा प्रत्यक्ष असर परेको स्थानीयको गुनासो छ।
मुख्य राजमार्ग तथा बजार क्षेत्रमा दिनहुँ छाडा पशुचौपाया देखिन थालेपछि सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ। खेतबारीमा पसेर बाली नष्ट गर्ने समस्या पनि उस्तै रहेको कृषकहरूले बताएका छन्।
गड्डाचौकीमा ठेलामा तरकारी बिक्री गर्दै आएका स्थानीय नरेश विकले छाडा पशुचौपायाका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको बताए। उनका अनुसार पशुचौपायाले तरकारी खाइदिने, सामानमा क्षति पुर्‍याउने र सडकमा अवरोध सिर्जना गर्दा व्यापार प्रभावित हुने गरेको छ।
स्थानीय व्यवसायीहरूले भारतबाट आउने पर्यटकसमेत बजार क्षेत्रमा जथाभावी छोडिएका पशुचौपाया देखेर यहाँका होटलमा बस्न अनिच्छुक हुने गरेको बताएका छन्।
भीमदत्त–११ की कृषक मानमती धामीले खेतमा लगाएको बाली जोगाउन रातभर पहरा दिनुपर्ने अवस्था आएको बताइन्। रोपाइँ सम्पन्न भएपछि केही राहत मिल्ने आशा गरे पनि छाडा पशुचौपायाका कारण हैरानी झन् बढेको उनको भनाइ छ। उनका अनुसार सडकमा झुन्डका झुन्ड पशुचौपाया हिँड्दा यात्रु र सवारी साधन दुवै जोखिममा पर्ने गरेका छन्।
वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले खेतीपाती सकिएपछि स्थानीयले एकैपटक पशुचौपाया खुला रूपमा छोड्ने गरेकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए। उनले केही दिनअघि गाई छोड्दै गरेका तीन महिलालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइपछि पशुचौपाया फिर्ता लैजान लगाइएको जानकारी दिए।
गड्डाचौकी मात्रै होइन, भीमदत्त नगरपालिकाका वडा नम्बर १, २, ४, ८ लगायतका क्षेत्रमा पनि छाडा पशुचौपाया व्यापक रूपमा देखिने गरेका छन्। नगरपालिकाले वडा नम्बर १२, १३ र १९ मा साना गौशाला निर्माण गरे पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उपप्रमुख नीलम लेखक जोशीले बताइन्।
उनका अनुसार स्थानीय तहले विभिन्न प्रयास गरे पनि पर्याप्त जमिनको अभाव र वन क्षेत्रको सीमितताका कारण ठूलो क्षमताको गौशाला निर्माण गर्न कठिनाइ भइरहेको छ। दीर्घकालीन समाधानका लागि प्रदेश र संघीय सरकारसँग समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले संघ सरकारले विशेष योजना ल्याए मात्रै छाडा पशुचौपाया व्यवस्थापन प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित