सार्थक ब्यूरो । कैलालीको धनगढी उपमहानगरपालिका–१७ को पथरी क्षेत्र र वडा नं.–१६ स्थित प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगङ्गा पुल निर्माण सुरु भएको आठ वर्ष पुग्न लाग्दासमेत सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती भोगिरहेका छन्। पुल नबन्दा विशेषगरी वर्षायाममा नदी तर्न जोखिमपूर्ण विकल्प अपनाउनुपर्ने अवस्था कायमै छ।
नदीमा पानीको सतह बढ्ने बर्खाको समयमा स्थानीयले गोरुगाडाको सहायताले मानिस र मोटरसाइकल वारपार गराउने गरेका छन्। मोटरसाइकलसहित नदी तर्ने यात्रुसँग प्रतिपटक १०० रुपैयाँ शुल्क लिने गरिएको स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दा निर्मल चौधरीका अनुसार प्रत्येक वर्ष बर्खा लाग्नेबित्तिकै पुल अभावको समस्या दोहोरिने गरेको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण लामो समयदेखि पुलको काम अधुरै रहेको उनको गुनासो छ।
अर्का स्थानीय यज्ञराज चौधरीले निर्माण कम्पनीको लापरवाहीप्रति कडा कारबाही गर्नुको सट्टा सरकारले पटक–पटक म्याद थप्दै आएको आरोप लगाए। उनका अनुसार वर्षौंदेखि निर्माण सम्पन्न हुने आश्वासन दोहोरिए पनि कामले गति लिन नसक्दा स्थानीयमा असन्तुष्टि बढ्दै गएको छ।
शिवगङ्गा पुल निर्माणको जिम्मा धनगढीस्थित पप्पु एडभेन्चर जेभीले २०७४ असार २७ गते पाएको थियो। सम्झौताअनुसार २०७७ असार २५ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म लोड परीक्षणबाहेक उल्लेखनीय प्रगति हुन सकेको छैन। निर्माण कम्पनीले करिब ३० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै अघिल्लो आर्थिक वर्षमै ३ करोड १३ लाख ७२ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार १६० मिटर लामो उक्त पुल निर्माणका लागि १४ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
कार्यालय प्रमुख इन्जिनियर राजेशकुमार यादवले पुलका १७ वटा पाइलमध्ये एउटाको क्षमता अपेक्षाअनुसार नभएपछि डिजाइन परिवर्तन गर्नुपरेको जानकारी दिए। उनका अनुसार केही समयअघि पुलको लोड परीक्षण सम्पन्न भइसकेको छ र वर्षा सकिएपछि संशोधित डिजाइनअनुसार निर्माण कार्य पुनः अघि बढाइनेछ।
उनले बर्खा समाप्त भएको करिब दुई महिनाभित्र निर्माण कार्यले गति लिने र यसपटक पुल सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
सडक डिभिजन कार्यालयका अनुसार २०७७ सालदेखि पटक–पटक थपिँदै आएको निर्माण अवधि हाल आगामी जेठ मसान्तसम्म कायम छ। तर, स्थानीयवासी भने यसपटक पनि निर्माण सम्पन्न हुनेभन्दा नयाँ आश्वासन मात्रै दोहोरिने हो कि भन्ने आशंकामा रहेका छन्।


















Discussion about this post