सार्थक ब्यूरो । आषाढ शुक्ल पूर्णिमाका अवसरमा बुधबार देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, सम्मान र कृतज्ञताका साथ मनाइँदै छ। ज्ञान, संस्कार र जीवनलाई सही मार्गतर्फ उन्मुख गराउने गुरुजनप्रति सम्मान प्रकट गर्न विद्यालय, गुरुकुल, मठ–मन्दिर तथा विभिन्न सामाजिक संस्थाहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्।
सनातन हिन्दू दर्शनमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश मानिन्छ। अज्ञानको अन्धकार हटाएर ज्ञानको उज्यालो प्रदान गर्ने व्यक्तिलाई गुरुका रूपमा उच्च सम्मान दिइन्छ। धर्मग्रन्थहरूमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा व्याख्या गरिएको छ भने ‘आचार्यदेवो भव’ भन्ने वैदिक मान्यताले गुरुको सर्वोच्च स्थानलाई अझ स्पष्ट पार्छ।
यस अवसरमा विभिन्न शैक्षिक संस्था, धार्मिक प्रतिष्ठान तथा सामाजिक सङ्घसंस्थाहरूले गुरु पूजन, सम्मान समारोह, प्रवचन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै गुरु–शिष्य सम्बन्धको महत्वलाई स्मरण गरिरहेका छन्।
आजकै दिन वेदका महान् सम्पादक तथा महाभारतका रचनाकार महर्षि वेद व्यासको जन्मजयन्ती पनि विशेष रूपमा मनाइँदै छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा व्यवस्थित गर्ने श्रेय व्यासलाई दिइन्छ। साथै, १८ पुराण र १८ उपपुराणको रचना वा सम्पादनसँग पनि उनको नाम जोडिएको छ। आषाढ शुक्ल पूर्णिमाकै दिन उनको जन्म भएको विश्वासका आधारमा यस दिनलाई व्यास जयन्तीका रूपमा मनाउने परम्परा रहिआएको छ।
महर्षि वेद व्यासले महाभारत, पुराण र अन्य धार्मिक ग्रन्थमार्फत मानव समाजलाई परोपकार, सत्य, धर्म र नैतिकताको मार्गमा अघि बढ्न प्रेरित गरेका छन्। ‘परोपकार नै धर्म हो र अरूलाई दुःख दिनु पाप हो’ भन्ने सन्देश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। महाभारतलाई पाँचौँ वेदका रूपमा चिनिने धार्मिक परम्परा पनि विद्यमान छ।
गुरु पूर्णिमा धार्मिक आस्थाको पर्व मात्र नभई ज्ञान, शिक्षा, संस्कार, अनुशासन र नैतिक मूल्यप्रतिको सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ। यस दिन गुरु–शिष्य सम्बन्धको गरिमा स्मरण गर्दै समाजमा ज्ञान, सद्भाव र मानवताको भावना प्रवर्द्धन गर्ने विश्वास गरिन्छ।








Discussion about this post