कञ्चनपुरमा रासायनिक मलको अभाव, किसान कृषि सामग्री कम्पनीतर्फ

सार्थक ब्यूरो । कञ्चनपुरमा धानबालीका लागि आवश्यक रासायनिक मलको अभाव चुलिँदै गएपछि किसानहरू कृषि सामग्री कम्पनी लिमिटेडको महेन्द्रनगर शाखामा पुग्न थालेका छन्। गाउँ–गाउँमा रहेका सहकारी संस्थामार्फत पर्याप्त मात्रामा मल उपलब्ध हुन नसकेपछि किसानहरू आवश्यक मलको माग गर्दै शाखा कार्यालय धाउन बाध्य भएका हुन्।
रोपाइँपछिको धानबालीको स्याहारका लागि युरिया तथा अन्य रासायनिक मल अत्यावश्यक पर्ने समयमा आपूर्ति सहज हुन नसक्दा किसानहरू चिन्तित बनेका छन्। सहकारी संस्थामा पटक–पटक सम्पर्क गर्दा पनि मागअनुसार मल नपाएको किसानहरूको गुनासो छ।
कृषि सामग्री कम्पनीको महेन्द्रनगर शाखामा पछिल्ला केही दिनयता मल लिन आउने किसानको भीड बढ्दै गएको छ। पर्याप्त आपूर्ति नहुँदा वितरण व्यवस्थापनमा समेत चुनौती थपिएको जनाइएको छ।
किसानहरूले समयमै आवश्यक मल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले रासायनिक मलको आपूर्ति तत्काल सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।
कृषि क्षेत्रमा मुख्य बालीका रूपमा रहेको धानको उत्पादनमा कमी आउन नदिन मलको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता किसानहरूले औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित