सहिद भिमदत्त पन्तका विचार आज पनि उत्तिकै सान्दर्भिक : भोजराज जोशी

सार्थक डेस्क। किसान योद्धा सहिद भिमदत्त पन्तको ७३औँ स्मृति दिवस आइतबार एक समारोहबीच सम्पन्न भएको छ। अमर सहिद भिमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सहिद पन्तका विचार र संघर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व उपसभामुख भोजराज जोशीले भिमदत्त पन्त कुनै एक राजनीतिक दलका नेता नभई अन्याय, शोषण, जातीय विभेद र सामन्ती संरचनाविरुद्ध उठेको जनस्वर भएको बताए। डडेल्धुराको कारीगाउँमा जन्मिएका पन्तले संस्कृत अध्ययनसँगै गीता र मार्क्सवादको अध्ययन गरी सामाजिक रूपान्तरणका लागि संघर्षरत क्रान्तिकारीको भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।जोशीले पन्तको संघर्ष सत्ता प्राप्तिका लागि नभई किसान, श्रमिक, दलित, हलिया, कमैया तथा उत्पीडित समुदायको सम्मानपूर्ण जीवनका लागि केन्द्रित रहेको बताए। “जसको जोत उसको पोत”, “तमसुक च्यात, भकारी फोड” र “कि त जोत हलो, कि त छोड थलो” जस्ता नाराले आर्थिक तथा सामाजिक न्यायको मार्गचित्र प्रस्तुत गरेको उनको भनाइ थियो।उनले पन्तले व्यवहारमै जातीय विभेदको विरोध गर्दै सबै जातजातिलाई एउटै थालमा भोजन गराएर समानताको उदाहरण प्रस्तुत गरेको स्मरण गरे। संविधानले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा छुवाछूत र विभेदका घटना अझै कायम रहेकाले पन्तका विचार अहिले पनि मार्गदर्शक रहेको उनले बताए।किसानको पक्षमा उभिएर तमसुक जलाउने, बेदखली रोक्ने, श्रमशोषणविरुद्ध अभियान चलाउने तथा उत्पादन र आत्मनिर्भरतामा जोड दिने पन्तका सन्देश वर्तमान आर्थिक चुनौती, बेरोजगारी र कृषि आयातमा निर्भर नेपालको सन्दर्भमा अझ बढी महत्त्वपूर्ण भएको जोशीले उल्लेख गरे।उनले २०१० साल साउन १७ गते पन्तको हत्या गरिए पनि उनको विचार समाप्त हुन नसकेको भन्दै भूमिसुधार, भूमिहीनको व्यवस्थापन, किसानलाई उत्पादनको उचित मूल्य, श्रमिकको सम्मान तथा सामाजिक समानताका मुद्दा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। सरकारले २०७२ सालमा पन्तलाई औपचारिक रूपमा शहीद घोषणा गरे पनि जन्मस्थलको विकास, स्मारक निर्माण, निर्माणाधीन प्रवेशद्वार सम्पन्न गर्ने तथा ‘भिमदत्त आदर्श बस्ती’ निर्माणलगायतका काम अझै अधुरै रहेको उनको भनाइ थियो।

प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा “आजको सन्दर्भमा सहिद भिमदत्त पन्त” विषयक भिमदत्त नगरपालिका-स्तरीय निबन्ध प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा नगरभित्रका २० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ।कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य महेशदत्त जोशी, प्रतिष्ठानकी उपाध्यक्ष नन्दा धामी, कोषाध्यक्ष रामचन्द्र साह, सहसचिव धर्मा रोकाया लगायतले पनि सहिद पन्तको योगदान र विचारको सान्दर्भिकतामाथि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले गरेका थिए।प्रतियोगिताको नतिजा निर्णायक समितिले आगामी साउन २३ गते सार्वजनिक गर्ने जनाएको छ। मूल्यांकनका आधारमा प्रथम, द्वितीय, तृतीय तथा एक जना सान्त्वना पुरस्कार विजेतालाई सम्मान गरिने प्रतिष्ठानका कोषाध्यक्ष रामचन्द्र साहले जानकारी दिए।कार्यक्रमका सहभागीहरूले सहिद भिमदत्त पन्तले उठाएको “जोत्नेको जमिन” लगायतका किसानमुखी एजेन्डा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै वर्तमान सन्दर्भमा उनका विचार र आदर्शलाई व्यवहारमा उतार्नु नै उनको स्मृतिप्रति सच्चा सम्मान हुने निष्कर्ष निकाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित