सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने एमालेको माग

सार्थक ब्यूरो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरीमा भएको हिंसात्मक घटनामा चार जनाको ज्यान गएको विषयलाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले शान्ति–सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाए। उनले सुनसरीमा देखिएको साम्प्रदायिक तनाव समयमै नियन्त्रणमा ल्याउन सरकार असफल भएको दाबी गरे।
बरालका अनुसार प्रारम्भिक अवस्थामै हातहतियारको प्रदर्शन तथा तनावपूर्ण गतिविधिमाथि प्रभावकारी नियन्त्रण गरिएको भए चार जनाको मृत्यु हुने अवस्था नआउने थियो। त्यसैले घटनाको नैतिक जिम्मेवारी सरकारको नेतृत्वले लिनुपर्ने उनको भनाइ थियो।
सांसद बरालले सरकारले गठन गरेको हालको छानबिन संयन्त्रप्रति पनि असन्तुष्टि जनाए। उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि पूर्वन्यायाधीशको नेतृत्वमा अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरे। उनका अनुसार प्रशासनिक निर्णयबाट बनेको छानबिन समितिले घटनाको वास्तविकता उजागर गर्न र पीडितलाई न्याय दिलाउन पर्याप्त विश्वास दिलाउन सक्दैन।
प्रतिनिधिसभामा बोल्दै उनले विराटनगरस्थित प्रतिष्ठित औद्योगिक समूह देवेनरा ग्रुपमा गरिएको छापामारीको शैलीमाथि पनि प्रश्न उठाए। कानुनी प्रक्रिया र पारदर्शितालाई ध्यानमा राखेर मात्रै यस्ता कारबाही हुनुपर्ने उनको धारणा थियो।
यसैबीच सांसद बरालले बजारमा बढ्दो महँगी, खाना पकाउने ग्यासको अभाव तथा उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराए। नागरिकका आधारभूत आवश्यकता व्यवस्थापनमा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाउँदै उनले सरकारको समग्र कार्यशैलीप्रति आलोचना व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित