बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो

सार्थक ब्यूरो । पश्चिम नेपालमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले बझाङदेखि डोटीको बनलेकसम्म ४०० केभी क्षमताको उच्च भोल्टेज प्रसारण लाइन निर्माण गर्ने तयारी सुरु गरिएको छ। करिब दुई हजार ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको यो आयोजना कार्यान्वयनका लागि आवश्यक स्वीकृति प्रक्रिया अघि बढाइएको हो।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आयोजना निर्माणको अनुमति प्राप्त गर्न विद्युत् विकास विभागमा आवेदन दर्ता गराएको छ। विद्युत् ऐन, २०४९ बमोजिम आवश्यक विवरणसहित अनुमति माग गरिएको विभागले जनाएको छ।
प्रस्तावअनुसार करिब ६० किलोमिटर लामो प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ मा निर्माण हुने चैनपुर सबस्टेसनबाट सुरु भई डोटीको शिखर नगरपालिका–१० स्थित प्रस्तावित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म पुग्नेछ।
आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी क्षमताको १६० एमभिए सबस्टेसन र बनलेकमा ४००/१३२ केभी क्षमताको ३१५ एमभिए सबस्टेसन निर्माण गरिने योजना छ। प्रसारण लाइनका लागि १४३ वटा डबल सर्किट टावर जडान गरिनेछ। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने टावरहरूबीचको औसत दूरी करिब ४०९ मिटर रहने प्रस्ताव गरिएको छ।
प्रसारण लाइन तथा सम्बन्धित संरचना निर्माणका लागि करिब २९५ दशमलव ४२ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर र विद्युत् मार्गको क्षेत्राधिकारका लागि करिब २६५ हेक्टर जमिन प्रयोग गरिनेछ। यस्तै, दुवै सबस्टेसन निर्माणका लागि कुल २१ दशमलव ४१ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा बनलेकका लागि सात हेक्टर र चैनपुरका लागि १४ दशमलव ३७ हेक्टर छुट्याइएको छ।
आयोजनाको प्रसारण मार्गको चौडाइ ४६ मिटर रहनेछ। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, आयोजना कार्यान्वयनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत वातावरणीय प्रभावलाई न्यूनतम बनाइने जनाइएको छ।
यस आयोजनासम्बन्धी सुझाव तथा राय उपलब्ध गराउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सरोकारवालालाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित