कञ्चनपुरका विद्यालयमा ‘मास कन्भर्सन डिसअर्डर’ देखिँदा पठनपाठन प्रभावित

सार्थक ब्यूरो । कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रका केही सामुदायिक विद्यालयमा विद्यार्थीहरू एक्कासि बेहोस हुने, कराउने, चिच्याउने तथा असामान्य व्यवहार देखाउने घटना बढेपछि शैक्षिक गतिविधिमा असर परेको छ। स्वास्थ्यकर्मीले प्रारम्भिक अध्ययनका आधारमा यसलाई ‘मास कन्भर्सन डिसअर्डर’ ९मास हिस्टेरिया० अर्थात् समूहगत मनोसामाजिक समस्याका रूपमा व्याख्या गरेका छन्।
पुनर्वास नगरपालिका–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयमा पछिल्ला तीन–चार दिनको अवधिमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत ३२ जना छात्रामा यस्ता लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक दिल्लीप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार केही विद्यार्थी अचानक बेहोस हुने, कराउने, चिच्याउने तथा अनियन्त्रित रूपमा हाँस्ने गरेपछि नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको छ।
घटनापछि पुनर्वास नगरपालिकाले विशेषज्ञ चिकित्सकसँग समन्वय गरी उपचार तथा परामर्शको व्यवस्था मिलाउन थालेको जनाएको छ। शिक्षा शाखा प्रमुख शिवराज भट्टका अनुसार काठमाडौंस्थित कान्ति बाल अस्पतालका विशेषज्ञसँग परामर्श गरिएको छ भने प्रभावित विद्यार्थीलाई आवश्यक स्वास्थ्य सेवा र औषधि घरमै पुगेर उपलब्ध गराउने तयारी भइरहेको छ। चिकित्सकले यो समस्या मनोसामाजिक कारणसँग सम्बन्धित रहेको बताएका छन्।
यसअघि पनि पुनर्वास–९ को राष्ट्रिय माध्यमिक विद्यालय बिचफाँटामा यस्तै प्रकृतिका घटना देखिएका थिए। पछिल्ला घटनाले शैक्षिक वातावरण प्रभावित भएपछि बागेश्वरी माध्यमिक विद्यालयले कक्षा ५ देखि ८ सम्मका विद्यार्थीका लागि दुई दिन पठनपाठन स्थगित गरेको छ।
उता बेलौरी नगरपालिकाले पनि घटनालाई गम्भीर रूपमा लिँदै विद्यालयहरूमा मनोसामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ। नगरपालिकाकी मनोसामाजिक परामर्शदाता कृष्णी चौधरीका अनुसार यो कुनै संक्रामक रोग वा भूतप्रेत, बोक्सी तथा अदृश्य शक्तिसँग सम्बन्धित घटना नभई मानसिक तनाव, डर, भावनात्मक दबाब तथा मनोवैज्ञानिक असरका कारण देखिने अवस्था हो।
उनले यस्तो समस्या एक विद्यार्थीबाट सुरु भएर समूहका अन्य विद्यार्थीमा समेत फैलिन सक्ने बताइन्। अत्यधिक तनाव, भावनात्मक उपेक्षा वा आफूलाई नबुझिएको अनुभूतिले बालबालिकामा यस्तो प्रतिक्रिया देखिन सक्ने उनको भनाइ छ। यस्तो अवस्थामा बेहोस हुने, सास फेर्न कठिन हुने, शरीरका मांसपेशी कडा हुने वा अस्थायी रूपमा दृष्टि कमजोर हुनेजस्ता लक्षण देखिन सक्छन्।
परामर्शदाता चौधरीले विद्यालयलाई प्रभावित विद्यार्थीलाई तत्काल भीडबाट अलग गरी शान्त वातावरणमा राख्न, अनावश्यक हल्ला फैलिन नदिन र अन्य विद्यार्थीको नियमित पठनपाठनलाई निरन्तरता दिन सुझाव दिएकी छन्। उनका अनुसार घटनालाई अत्यधिक प्रचारप्रसार वा भीडभाडको विषय बनाउँदा अन्य विद्यार्थीमा समेत मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भएकाले संयमित व्यवस्थापन आवश्यक हुन्छ।
उनले प्रभावित विद्यार्थीलाई समयमै मनोसामाजिक परामर्श ९काउन्सेलिङ० उपलब्ध गराए समस्या समाधान गर्न सकिने उल्लेख गर्दै अभिभावक, शिक्षक तथा समुदायलाई अन्धविश्वासभन्दा वैज्ञानिक उपचार र मनोवैज्ञानिक सहयोगमा विश्वास गर्न आग्रह गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित